२९ आश्विन २०८३, बिहिबार

सरकारलाई ओलीको प्रश्न– एमालेले अवरोध नगर्दा पनि संसद किन चलेको छैन ? (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १७ दिनदेखि संसद चल्न नसक्नुको कारण सरकारसँग माग गरेका छन् ।

विगतमा एमालेले अवरोध गरेको कारण संसद चल्न नसकेको भनेर कुप्रचार गर्ने सरकार अहिले कता छ ? संसद किन चलाएको छैन ? कि अहिले पनि एमालेले अवरोध जारी राखेको छ भन्दै सरकारमाथि गम्भीर प्रश्न गरेका हुन् ।

आज सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको एमाले बागमती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिनको माग राखेर अवरोध गर्दा संसद् चल्न नदिइएको आरोप लगाइएको र अहिले प्रधानमन्त्री विदेश जाँदा १७ दिनसम्म संसद् स्थगन हुनुले जनताका आवाज प्रस्तुत हुन नपाएको बताए ।

‘विगतमा सुन तस्करी प्रकरणमा प्रभावकारी अनुसन्धान गर्नुपर्छ भन्दा एमालेले सदन अवरुद्ध पार्‍यो भनेर सरकार आफ्नो दायित्वबाट पन्छिँदै गयो । जनताले त्यो कुरा थाहा पाउने अवस्था बनेपछि सहमतिको नाटक गर्‍यो । अहिले आफ्नै सहमति लत्याएर अनुसन्धान फितलो बनाउने उद्देश्यस्वरुप आयोग गठनमा लफडा झिकिरहेको छ,’ अध्यक्ष ओलीले भने, प्रतिपक्षको जायज मागलाई सम्बोधन गरेर संसद चलाएको भए के हुन्थ्यो, अनि अहिले किन बन्द गरेको ? अहिले जनताको आवाज सुन्न पर्दैन ?’

‘टि–स्टेटको फाइल खोल्दा एमालेलाई आपत्ति छैन’

ओलीले प्रचण्डलाई गिरिबन्धु टिस्टेटको फाइल खोल्न पनि चुनौती दिएका छन् । त्यससम्बन्धी फाइल खोल्दा एमालेलाई कुनै त्रास नरहेको उनले स्पष्ट गरेका छन् । कुनै गल्ती नगरेको पार्टीले कसैको घुर्कीसँग डराउनुपर्ने अवस्था नरहेको ओलीको भनाइ थियो ।

नेतृत्व समेत चयन गर्ने अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि सहभागी रहेका छन् । उद्घाटन समारोहमा नेताहरुले सकेसम्म सहमति र नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

हेर्नुहोस् भिडिओ–