
काठमाडौं, ७ असोज । छिमेकी मुलुक भारतले चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान ३ मा राखेर पठाएको विक्रम ल्यान्डर प्रज्ञान रोभर चन्द्रमामा सफल अवतरण गरेको भए पनि उनीहरू अहिले सम्पर्कविहीन बनेका छन् ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का अनुसार सेप्टेम्बर २ देखि विक्रम र प्रज्ञानलाई ‘स्लिप मोड’ मा राखिएको थियो । नयाँ चन्द्रदिन सुरू हुनेबित्तिकै आफ्ना चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास गरिरहेको तर अहिलेसम्म पनि त्यहाँबाट कुनै पनि सिग्नल प्राप्त गर्न नसकेको बताएको छ ।

रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण भएको थियो । चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू सङ्कलन गरेर १० दिन बिताएका थिए ।
यो महिनाको सुरूमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुनेगरी सूर्यास्त हुन लाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए किनकि ती ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिन्छ ।

इसरोले यही ‘२२ सेप्टेम्बरतिर’ चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा तिनीहरू ‘बिउँझिने’ आशा गरिएको बताएको थियो । तर, अहिले उनीहरू सुतेको सुत्यै बनेका छन् ।
चन्द्रमामा सूर्य उदाउँदा ब्याट्रीहरू रिचार्ज हुने र विक्रम र प्रज्ञान पुन: जागृत हुनेछन् भन्ने ठानिएको थियो । तर, अहिलेको अवस्थाले के देखाएको छ भने चन्द्ररातको अत्यधिक चिसोले ब्याट्रीहरूलाई क्षति पुर्याएको हुनसक्छ ।
के भन्छ इसरो ?
शुक्रबार इसरोले यसअघि ट्विटर भनिने एक्समा पोस्ट गर्दै लेखेको छ, ‘विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सञ्चार सम्पर्क स्थापना गर्ने प्रयास जारी रहनेछ ।’ आफ्नो चन्द्रयान–३ अभियानसँगै चन्द्रमाको दक्षिणी ध्रुवनेर अन्तरीक्षयान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर भारतले इतिहास बनाएको छ ।
उक्त सफलतासँगै अमेरिका, सोभियत सङ्घ र चीनपछि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ हासिल गर्न सफल देशको सूचीमा भारत पनि सामेल भएको छ ।

अवतरणका लागि सावधानीपूर्वक चन्द्रदिनको सुरूवात हुने बेला छानिएको थियो । त्यसले गर्दा विक्रम र प्रज्ञानले काम गर्नका लागि दुई सातासम्म सूर्यको प्रकाश पाएका थिए ।
चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ । यसको मतलब चन्द्रमामा १४ दिनको दिन र १४ दिनको रात हुन्छ ।
‘चन्द्रमाका लागि भारतीय दूत’
इसरोले चन्द्रयानको अभियान र खोजहरू तथा उनीहरूले लिएका तस्वीरहरू नियमित रूपमा सार्वजनिक गरिरहेको छ । उनीहरूलाई निष्क्रिय पार्दा इसरोले विक्रम र प्रज्ञानले आफ्ना सबै कार्यहरू पूरा गरिसकेको तर अर्को चन्द्रदिन सुरू हुँदा उनीहरू पुन: सक्रिय हुने आशा व्यक्त गरेको थियो ।
विज्ञहरूले चीनले यसअघि पठाएका ल्यान्डर र रोभरको उदाहरण दिँदै ती सूर्योदयसँगै धेरै पटक ब्युँझिएका थिए भनेका छन् । तर, इसरोका पूर्वप्रमुख एएस किरण कुमारले बीबीसीलाई बताए अनुसार चन्द्रमाको दक्षिणी ध्रुवनजिक रातको तापक्रम नियमित रूपमा माइनस २०० डिग्री सेल्सियसदेखि माइनस २५० डिग्री सेल्सिअसमा झर्ने बताए ।
उनका अनुसार ब्याट्रीहरूलाई त्यस्तो तापक्रममा सञ्चालन गर्न वा चलाउन मिल्नेगरी बनाइएको थिएन । इसरोले चाहिँ यदि विक्रम र प्रज्ञान पुन: सक्रिय भएनन् भने उनीहरू चन्द्रमामा ‘भारतको चन्द्रमाका लागि राजदूतका रूपमा’ रहनेछन् भनेको छ । बीबीसीबाट













प्रतिक्रिया