३० आश्विन २०८३, शुक्रबार

शिक्षकलाई अपहरण, यातना र हत्या गर्नु ठिक थिएन : केपी ओली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, ७ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीको सशस्त्र युद्धका क्रममा बिनाकारण शिक्षकहरूलाई अपहरण गरी निर्मम यातना दिने र हत्या गर्नु बिल्कुल बेठिक भएको बताएका छन् ।

सहिद गुरु लुइँटेल स्मृति पार्क उद्घाटन गर्न आज ओखलढुंगाको रामपुर पुगेका अध्यक्ष ओलीले ‘जनयुद्ध’को नाममा थुप्रै निर्दोष शिक्षकहरूसहित सर्वसाधारणको ज्यान माओवादीले लिएको र त्यसो गर्नु मानवताविरोधी कदम भएको बताएका हुन् ।

युद्धको नाममा शिक्षाको ज्योति छर्ने शिक्षकहरूलाई समेत निर्ममतापूर्वक हत्या गरेको बताउँदै उनले गुरु लुइँटेल जस्ता शिक्षकलाई माओवादीले अपहरण गरी यातना दिएर निर्ममतापूर्वक हत्या गरेको बताए ।

समाजको एउटा आदर्श व्यक्ति, शिक्षाको ज्योति फैलाउँदै हिँड्ने व्यक्ति, जीवन कसरी बिताउने भन्ने सचेतनाको दियो बाल्दै हिँड्ने व्यक्तिलाई अपहरण गरेर यातनासहित हत्या गरेको चर्चा उनले गरे । माओवादीले लोकतन्त्रप्रति आस्थावान थुप्रै व्यक्तिको हत्या गरेको अध्यक्ष ओलीको भनाइ थियो ।

शिक्षक लुइँटेललाई २०६० भदौ २२ गते विद्यालयबाट घर फर्किने क्रममा तत्कालीन माओवादीले घोराखोरीबाट अपहरण गरी रामपुरमा लगेर बरको रुखमा झुन्ड्याएर हत्या गरेको थियो । सोही स्थानमा सहिद गुरु लुइँटेलका छोरा फणिन्द्र लुइँटेलको अगुवाईमा रामपुरमा सहिद स्मृति पार्क निर्माण गरिएको छ ।