२९ आश्विन २०८३, बिहिबार

संसदीय समितिमा बोलाएको भन्दै रिसाए गृहमन्त्री, प्रश्नोत्तरको व्यवस्था मिलाउन अनुरोध (भिडिओ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिमा बोलाएको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आक्रोशित बनेका छन् ।

आज आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका उनले आफूलाई अकस्मात बैठकमा बोलाइएको र बग्रेल्ती प्रश्न सोधिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

आज बसेको बैठकमा आफ्नो उपस्थिति र एजेण्डाबारे कुनै पूर्वजानकारी नभएको बताउँदै उनले भने, ‘आजको बैठकमा आउनुपर्छ भन्ने सूचना खबर छैन । आजको बैठकमा एजेण्डा मेरो छैछ । त्यस्तो बेलामा अरु गम्भीर कामहरूमा हुन्छ गृहमन्त्री अनि तपाइँहरूचाहिँ मन्त्री नभए बैठक नै चल्न दिन्नौँ भन्ने ?’

समितिका सदस्यहरूले गृहमन्त्री नभए बैठक नै चल्न दिदैनौँ भनेपछि आफूलाई समितिका सभापति रामहरि खतिवडाले आकस्मिकरूपमा बोलाएको भन्दै उनले भने, ‘समिति सभापतिज्यूले तपाइँ नभएपछि बैठक नै चल्न दिन्न्नौँ भन्नुभयो । त्यसकारण मैले हार्दिकता र सदासयता देखाएर मात्रै म बैठमा आएको हुँ ।’

यद्यपि आफूले संसद र संसदीय समितिहरूको सम्मान गर्ने स्पष्ट पारे । ‘यो संसदलाई सम्मानन गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मूल्यमान्यता र सिस्टम पनि त हुँदो हो । यसो त गर्न मिल्दैन नि । पद्धतिमा चल्नुपर्‍यो, सिस्टममा चल्नुपर्‍यो । यो मूल्यमान्यताको पालना गरौँ भनेर यहाँ म सबैसमक्ष सविनय अनुरोध गर्न चाहान्छु ।’

त्यस्तै, उनले संसदीय समितिमा आकस्मिकरूपमा बोलाउने र बग्रेल्ती प्रश्नहरू गर्ने हो भने संसदमा ‘गृहमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिदिन पनि समितिसँग अनुरोध गरेका छन् । ‘यसरी यहाँ आएको बेलामा प्रश्न गर्ने हो भने संसदमा गृहमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिदिनुहोस् म आइहाल्छु नि । मन्त्री भएकै कारण उठ् तँ कहाँ छस् यहाँ आइज भन्न मिल्छ ?’

गृहमन्त्री श्रेष्ठले असम्बन्धित विषयमा पनि समितिमा आफूलाई बोलाइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

हेर्नुहोस् भिडिओ–

त्यसअघि बैठकमा समिति सदस्यहरुले साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै विभिन्न प्रकरणको अनुसन्धानका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा समिति सदस्य रवि लामिछानले साम्प्रदायिक घटना गराएर शान्ति सुरक्षा खलबलाउने षडयन्त्र भइरहेको बताए । उनले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभाष भएको बताएका छन् ।

त्यस्तै, समिति सदस्य रघुजी पन्तले सर्लाहीको मलंगवामा भएको धार्मिक दङ्गा लगातार हुँदा पनि प्रशासनले यसलाई रोक्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीको दबाबमा सेनाका सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप गरिएको भन्दै पन्तले आपत्ति जनाएका छन् ।