२९ आश्विन २०८३, बिहिबार

केपी ओलीद्वारा ‘दीपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’ उदघाटन तथा ‘विधाता’ विमोचन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडों, ६ असोज । सामाजिक अभियान्ता तथा लेखक दीपेन्द्रराज गिरीद्धारा लिखित ‘बिधाता–२’, ‘बिधाता–३’ र ‘बिधाता–४’ पुस्तक विमोचन तथा ‘दिपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उदघाटन भएको छ ।

भक्तपुरमा आयोजित एक समारोहकाबीच पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तक विमोचन तथा प्रतिष्ठान उदघाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वप्रधानमन्त्री ओलीले शारीरिकरूपमा अशक्त भएर पनि निरन्तर आफ्नो कर्ममा लागेका गिरी समाजको उदाहरणीय पात्र भएको बताए । ‘शारीरीकरूपमा मजबुत भएकाहरू काम गर्न अल्छी मान्छन्, तर कठिन शारीरिक अवस्थाबीच उहाँको लगनशीलताले सबैलाई पाठ सिकाएको छ,’ अध्यक्ष ओलीले भने ।

गिरीद्धारा लिखित पुस्तक पठनीय, ज्ञानवद्र्धक र जानकारीमूलक भएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले पुस्तकमा पछिल्लो केही दशक यताका राजनीतिक, सामाजिक दस्तावेज संग्रहित रहेको आफूले पाएको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले आफूजस्तो स्पाइनल समस्या भोगिरहेकाहरूलाई सहायता गर्न र यसबारे जनचेतना फैलाउन प्रतिष्ठान पनि सुरू गरेकोमा गिरीलाई धन्यवाद ज्ञापन गरेका थिए । ‘गिरीजीले प्रष्ठिाननै खोलेर आफूजस्तो शारीरिक अशक्तता भएकाहरूको जीवन सहज बनाउन जुन प्रयत्न थाल्नुभएको छ त्यो एकदमै प्रशंसनीय छ,’ ओलीले भने, ‘यसमा सबैको सहयोगको खाँचो छ, बास् तपाइँहरूले आफ्नो मन लोभीचाहि नबनाउनुहोला ।’

कार्यक्रममा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले दीपेन्द्र राज गिरीजस्ता पात्रलाई सबैले उत्साह र ऊर्जा दिनुपर्ने बताए । ‘नेपाली राजनीतिक, सामाजिक परिघटनामा गिरीले गरेका टिप्पणी दूरदर्शी सावित भएका छन्, उनको पुस्तकमा उल्लेख घटनाक्रमले त्यसलाई पुष्टि गर्छ,’ सांसद खतिवडाले भने ।

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले आत्मबल र अठोट भए जस्तोसुकै कठिनाई पन्छाएर पनि सफल हुन सकिन्छ भन्ने उदाहरण गिरीले प्रस्तुत गरेको बताए ।

सो अवसरमा देश र समाजमा विभिन्न माध्यमबाट विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वमुख्य सचिव डा. विमल कोइरालासहित वहालवाला सचिवहरू, पूर्वसचिवहरू, पूर्वप्रधानसेनापतिहरू, पूर्वप्रहरी महानिरीक्षकहरू, पूर्वन्यायाधीशहरू, विभिन्न अस्पतालका प्रमुखहरू, सामाजिक व्यक्तित्वहरू तथा सञ्चारकर्मीहरू छन् ।

नेपाली कांग्रेस भक्तपुरका सभापति तथा प्रतिनिधीसभा सदस्य दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम वरिष्ठ सञ्चारकर्मी दिपक समिरले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू, प्रदेश सभा सदस्य तथा मन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूसहित पूर्वप्रशाशक, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

झण्डै दुई दशकदेखि स्पाइनल इन्जुरीका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका गिरी निरन्तर लेखन र सामाजिक अभियानमा संलग्न छन् ।