२९ आश्विन २०८३, बिहिबार

६४ जनालाई पुरस्कृत गर्दै राष्ट्रपतिले भने– २०४६ सालपछिको उपलब्धि नै मिडिया क्रान्ति हो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले २०४६ सालपछि नेपालमा मिडियाको क्षेत्रमा ठूलो काम भएको बताएका छन् ।

आज शनिबार प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो दुई दशकमा मुलुकले पत्रकारिताको क्षेत्रमा ठूलो फड्को मारेको र यो उपलब्धिपूर्ण रहेको बताएका हुन् । ‘२०४६ पछि नेपालमा कुनै ठूलो कुरा भएको छ भने त्यो मिडिया क्रान्ति नै हो,’ उनले भने ।

पञ्चायतकालमा आफूले पनि पत्रकारिता गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले कुनै पनि देशको प्रेस स्वतन्त्रताको अवस्थाबाट नै देशको समृद्धिको अवस्था थाहा पाउन सकिने बताए । निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिलले निष्पक्ष र स्वतन्त्र रहँदै सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

‘सामाजिक सञ्जालको तिव्र विकास र प्रयोगसँगै नागरिकलाई दिग्भ्रमित पार्ने विषयवस्तुले कतिपय बेला अन्योल सृजना भइरहेको भन्ने गुनासो सरोकारवालाले गरेको पाइन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘यस्तो अवस्थामा सामाजिक सञ्जालबाट सिर्जना हुने अन्योल समेत प्रेसजगत्ले चिर्ने गरी सूचना प्रवाह गर्नुपर्ने दायित्व थपिएको छ ।’ उनले राम्रो काम गर्ने पत्रकारलाई पुरस्कृत, सम्मान गर्ने र गर्न नसक्नेलाई राम्रो गर्नेतर्फ उत्प्रेरित गर्ने स्वायत्त संस्था प्रेस काउन्सिल भएको पनि उल्लेख गरे ।

कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले काउन्सिलको भूमिकालाई प्रशासनिक कार्यमा भन्दा पत्रकारिता क्षेत्रकै नियमन र पत्रकारको स्वनियमन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा केन्द्रित गर्न जरुरी रहेको बताइन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आर्थिक सङ्कटका बीचमा पनि नेपाली मिडियाले दायित्व नभुलेको बताए । बस्नेतले तमाम सङ्कटका बीचमा नेपाली मिडियाले देशको हितमा जनताको पक्षमा र समृद्धिको पक्षमा काम गरेको भन्दै मिडियाको संरक्षण राज्यको दायित्व भएको उल्लेख गरे ।

यस्तै, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले प्रेससम्बन्धी कानुन निर्माणको कार्य फास्ट ट्रयाकबाट गराउन सरकारको ध्यानाकर्षण गराए ।

काउन्सिलले वार्षिकोत्सवको अवसरमा वरिष्ठ पत्रकारहरू, काउन्सिलका पूर्व पदाधिकारी र सदस्यसचिवहरूलाई सम्मानसमेत गरेको छ । साथै विभिन्न विधामा ६४ वटा पुरस्कार वितरण गरेको छ ।