२९ आश्विन २०८३, बिहिबार

विद्यार्थी पढाउँदै बहालवाला मन्त्री

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ६ असोज । मन्त्रीले पढाउँदै हिँड्छन भन्दा नेपालको सन्दर्भमा अनौठो लाग्न सक्छ, तर लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री धर्मबहादुर चौधरी यतिबेला बिहान ७ बजेदेखि साँझसम्म विद्यार्थीहरूलाई अंग्रेजी विषय पढाइरहेको अवस्थामा भेटिन्छन् ।

बर्दियाको भौराटप्पा क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुँदै हाल बहालवाला मन्त्री छन् धर्मबहादुर चौधरी । उनले २०५८ सालमा एसएलसी दिएलगत्तै शिक्षण पेशा अङ्गालेका थिए । करिब २१ वर्षे शिक्षण पेशाको अनुभव संगालेका धर्मबहादुर चौधरीले अंग्रेजी विषयका कक्षा ८ देखि १२ सम्म पाठ्यपुस्तक समेत प्रकाशन गरेका छन् ।

शिक्षण पेशा छोडेर राजनीतिमा लागेका उनै चौधरी यतिबेला लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा समेत छन् । कक्षा १२ को परीक्षामा धेरै विद्यार्थीहरूले अंग्रेजी विषयमा कम अंक ल्याएको विषयले आफूलाई छोएको भन्दै मन्त्री चौधरीले राजापुर क्षेत्रका कक्षा १२ को अंग्रेजी विषयमा पुरक परीक्षा दिने विद्यार्थीहरूलाई समेटेर एक हप्ते कक्षा सञ्चालन गरेका हुन् ।

उनले नि:शुल्क रूपमा सञ्चालन गरेको शिक्षण कक्षामा बर्दिया राजापुर क्षेत्रबाट मात्र होइन छिमेकी जिल्ला सुर्खेत र कैलालीबाट समेत विद्यार्थीहरू पढ्न आएका छन् । मन्त्रीले सञ्चालन गरेको एक हप्ते कक्षामा करिब ५५ जना विद्यार्थीहरू नियमति पढिरहेका छन् ।

यही असोज २ गते देखि सञ्चालन गरेको परीक्षामा आधारित शिक्षण कक्षा ७ गते अर्थात् भोलिसम्म सञ्चालन हुने छ । मन्त्री स्वयम्ले पढाउन थालेपछि विद्यार्थीहरूले सहजै तरिकाले नजानेको विषयवस्तु जान्न पाएको बताउँछन् राजापुर ६ का सूर्यबहादुर रोकाया । उनीसँगै आजै मन्त्रीको कक्षामा पढ्न आएकी विद्यार्थी रेणुसिंह ठकुरीले पनि एक दिनमै आफूले अंग्रेजी ग्रामर सजिलै बुझेको बताइन् ।

आफू भौतिक पूर्वाधार विकासमन्त्री भए पनि समाजमा रहेको अन्य सामाजिवक विकासका विषयलाई समेत भौतिक पूर्वाधारको विकास सँगसँगै जोडेर लानुपर्ने भन्दै मन्त्री चौधरीले जिल्लास्तरमा वौद्धिक श्रमदान अभियान नै सञ्चालन गर्ने योजनामा रहेको बताउँछन् ।

जिल्लास्तरमा रहेका सरकारी कर्मचारी, संघसंस्थामा कार्यरत कर्मचारीलाई पनि उनीहरूसँग भएको भौद्धिकता तथा क्षमतालाई बाँड्न मिल्नेगरी बौद्धिक श्रमदान सञ्चालन गर्न आवश्यक रहेको भन्दै मन्त्री चौधरीले त्यसको सुरुवात आफूबाटै गरेको बताए ।

यसरी मन्त्री धर्मबहादुर चौधरी जस्तै अन्य मन्त्री तथा जनप्रतिनिधिहरूमा पनि आ–आफ्नै बौद्धिकता क्षमताहरू हुन सक्छन । आफ्नो जिम्मेवारीको नियमित कामसँगै विदाको समयमा यसरी सामाजिक काम गर्न सके स्थानीय जनताले जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने थियो कि ।

डिलप्रकाश गौतमबाट