२९ आश्विन २०८३, बिहिबार

उच्चस्तरीय छानबिन आयोग गठन नगरेकोमा एमाले असन्तुष्ट, के भन्छन् सत्तापक्षका नेता ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

उच्चस्तरीय छानबिन आयोग गठनका लागि शुक्रबार सिंहदरबारमा बसेको बैठकमा एमालेले यसअघि भएको सहमति अनुसार छानबिन आयोग गठन गर्न सरकार तयार नदेखिएको भन्दै आपत्ति जनाएको हो ।

छलफलपछि एमाले सचेतक महेश बर्तौलाले यसअघि भएको सम्झौता अनुसार असोज ५ गतेभित्रै आयोग गठन हुनुपर्नेमा नभएको भन्दै आपत्ति जनाए । उनले शुक्रबार नै आयोगको घोषणा नभए विश्वासघात भएको ठानिने जिकिर गरे ।

यस्तै, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने सहमति पालना गर्ने काम सत्तापक्षबाट भएको जिकिर गरे । भदौ ६ गते भएको सहमति अनुसार नै टीओआरमा राखौँ भन्दा एमाले नेताहरुले पार्टीमा छलफल गर्ने बताएकाले बैठक निष्कर्षमा पुग्न नसकेको उनले जिकिर गरे ।

नेताहरुले पार्टीभित्र छलफल गरेर पुन: उच्चस्तरीय छानबिन आयोगका बारेमा छलफल गर्ने जनाएका छन् ।

यसअघि दलहरुबीच सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति भएको थियो । सीर्आइबीले आफ्नो प्रतिवेदन बुझाइसकेपछि असोज ५ गते (आज) आयोग गठन गर्ने गरी भदौ ६ गते सहमति भएको थियो । तर, सहमति अनुसार गठन हुन नसकेको भन्दै एमालेले आपत्ति जनाएको छ ।