२७ कार्तिक २०८३, शुक्रबार

शान्ति प्रक्रियाको बाँकी काम सकिएको छैन्ः पूर्वमहामन्त्री सिटौला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा बिहीबार यहाँ आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले राजनीतिक दलका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाका बाँकी काम नसकिएको बताए ।

नेता सिटौलाले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरेअनुरूपका काम अझै अधुरो रहेको बताए । राजनीतिक दल एकै ठाउँमा उभिएमा शान्ति प्रक्रियाका बाँकी काम सहजै समाधान हुने उनको भनाइ छ ।

‘विस्तृत शान्ति सम्झौतामा हामीले उल्लेख गरेको सत्य निरूपण तथा मेलमिलाप आयोग गठन हुन्छ, बेपत्ताको छानबिन आयोग गठन हुन्छ, त्यसले अनुसन्धान गर्छ, त्यसले निष्कर्ष निकाल्छ, र द्वन्द्वपीडितले न्याय पाउँछन् भन्ने हाम्रो घोषणा हो, त्यो अहिलेसम्म पूरा हुन सकेको छैन’, उनले भने ।

उनले राजनीतिक दलहरू आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने धारणा राखे । विस्तृत शान्ति सम्झौता शान्ति र न्यायको भावनाले सिर्जना गरिएको दस्तावेज भएको उनको भनाइ थियो ।