
काठमाडौं, ५ असोज । प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।
करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रुपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउँदै आएकी शर्मालाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्धितीय योगदान दिनुभएका प्रेस काउन्सिलका पूर्व अध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन र उनको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो । यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ छ ।
२०५२ सालदेखि विभिन्न मिडिया काम गर्दै आएकी शर्मा पछिल्लो समय समकोण टीभी कार्यक्रमको उत्पादक तथा प्रस्तोता छिन् । शर्मासँग बिगत २८ वर्षदेखि निरन्तर रुपमा विभिन्न सञ्चारमाध्यममा रिपोर्टर हुँदै सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उनले श्री सगरमाथा र एभरेष्ट हेराल्ड राष्ट्रिय दैनिक पत्रिकाको रिपोर्टर, रेडियो नेपाल र रेडियो नेपालको घटना र विचार कार्यक्रमको रिपोर्टर, त्यस्तैगरी, सारथी साप्ताहिक, रेडियो सगरमाथामा लामो समय रिपोर्टर भई काम गरेकी थिइन् ।
कान्तिपुर एफएम र उज्यालो एफएममा पनि दुई वर्ष साप्ताहिक रुपमा कार्यक्रम चलाएकी शर्माले पोखराबाट प्रकाशन हुँदै आएको आदर्श समाज दैनिकको संवाददाता भएर केही वर्ष काम गरेकी थिइन् ।
हाल उनी खोज पत्रकारिता केन्द्रककी उपाध्यक्ष, दक्षिण एशियाली पत्रकार महिला सन्जाल (स्वाम) नेपालकी अध्यक्ष र नेपाल पत्रकार महासंघको सल्हाहकार पनि छिन् ।
महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूहको दुई कार्यकाल अध्यक्ष भएको बेला देशभरिका पत्रकारितामा महिलाहरुको संख्या बढाउनका लागि तालिम र गुणात्मक वृद्धिका लागि पनि काम गरेको अनुभव छ । उनी महिला खबर डटकमकी सस्थापक अध्यक्ष समेत हुन् ।
२०६२ र ६३ को जनआन्दोलनमा जनअधिकार र प्रेस स्वतंत्रताका लागि पत्रकार महासंघको केन्द्रीय सदस्य र दक्षिण एसियाली पत्रकार संगठनको महासचिवको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।
साथै, उनले विभिन्न दैनिक, साप्ताहिक, म्यागेजिन र अनलाइनमा समसामयिक बिषयमा लेख लेख्दै आएकी छिन् ।
काउन्सिलले विंसं २०५७ सालमा पहिलोपल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापा र त्यसअघि काउन्सिलका संस्थापक समेत रहेका अग्रज पत्रकार भारतदत्त कोइरालाले प्राप्त गरेका थिए ।
प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला बनेकी छिन् ।
प्रेस काउन्सिल नेपाल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा यही असोज ६ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा शर्मालाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । सोही दिन यो वर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत, सशक्त सञ्चारकर्मी, आचारसंहितासहितका पुरस्कार समेत प्रदान गरिनेछ ।
साथै, पत्रकारितामा लामो समयदेखि योगदान पुर्याउने विभिन्न पत्रकारलाई सम्मानसहित वार्षिकोत्सव मनाउने तयारी छ ।

















प्रतिक्रिया