
काठमाडौं, ४ असोज । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव आएको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा नीति महाधिवेशनको समेत काम गर्नेगरी महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्नेगरी प्रस्ताव आएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा महामन्त्री गगन कुमार थापाले अहिलेसम्म भएगरेका कार्यक्रमहरुको समीक्षाका बारेमा समीक्षात्मक प्रतिवेदन पेश गरेका थिए भने पार्टीका उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा जानकारी गराएका थिए ।
सो क्रममा खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरूबारे जानकारी गराएका थिए । संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सीमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पूरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको उनले बताए ।
आज बैठकमा विमलेन्द्र निधि, कल्याण कुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखेक छन् । कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने छ ।













प्रतिक्रिया