
विराटनगर, ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएकोे बताएका छन् । संविधान दिवसको अवसरमा बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनका लागि सहमति र सहकार्य गर्नुको विकल्प नभएको समेत बताए ।
आवश्यक कानुनको अभावमा संघीयताको मर्म र भावना अनुसार काम हुन नसकेकाले संघियता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताए । कोशी प्रदेशका राजनैतिक, आर्थिक र सामाजिक समस्या निराकरणका लागि प्रदेश सभामा रहेका राजनैतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा संविधान कार्यान्वयनको अवस्था, चुनौती र समाधान विषयक निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख, प्रदेश सांसद, उच्चपदस्थ कर्मचारीहरु, सुरक्षाकर्मीहरु, विद्यार्थी लगाएतको उपस्थीति रहेको थियो ।











प्रतिक्रिया