
काठमाडौं, ३१ भदौ । काठमाडौंको तीनकुनेस्थित दिव्या स:मिलभित्र धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको घटनामा संलग्न रहेकाका एक जनालाई आज आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–९ घर भई काठमाडौं काँडाघारी वीरेन्द्रचोक बस्ने २३ वर्षीय सञ्जय भण्डारी छन् ।
उनले उक्त स:मिलमा कामदारको रूपमा बस्दै आएका दोलखा कालिञ्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनकै श्रीमती ५० वर्षीया अम्विका भुजेल, पूर्ण बहादुरकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गाउँपालिका–२ घर भई सोही मिलमा बस्ने १९ वर्षीय नवीन भन्ने विशाल राईसमेत चार जनाको शुक्रबार राति हत्या गरेका थिए ।
उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न भण्डारीलाई काँडाघारी वीरेन्द्र चोकबाट पक्राउ गरेको हो ।
किन गरे हत्या ?
केही समयअगाडि विशालले चलाएको मोटरसाइकलले संजयलाई ठक्कर दिँदा उनीहरूबीच विवाद भएको थियो । विशालले कुटपिट समेत गरेको रिसइबीका कारण विशाललाई भेट्छु, निहुँ खोज्यो भने छप्काई दिन्छु भन्दै खुकुरी बोकी मिलको पछाडि पट्टीको बन्द गेटबाट चढेर विशाल बसेको कोठाको सोफामा बसेको अवस्थामा विशालले किन यहाँ बसेको भन्दै कुटपिट गरेपछि सञ्जयले रिस थाम्न नसकी खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको छ ।
उनले अन्य तीन जनालाई सो घटना बाहिर आउने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै सञ्जयको साथबाट घटनामा प्रयोग भएको एक थान खुकुरी प्रहरीले बरामद गरेको छ ।
प्रतिवादी भण्डारी जन्मजात बोल्न नसक्ने भएकाले घटना अनुसन्धान सम्बन्धमा साङ्केतिक भाषा विज्ञ झिकाई थप सोधपुछको क्रममा निजले आफूले सम्पूर्ण घट्ना एक्लै घटाएको स्विकार गरेको र घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य जारी रहेको बताएको छ ।













प्रतिक्रिया