
काठमाडौं, २८ भदौ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
आज बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख घिमिरेले नेम्वाङको निधनले मुलुकलाई क्षति पुगेको बताए ।
बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै एक मिनेट मौनधारण समेत गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि शुक्रबार १ बजे बोलाइएको छ ।
यस्तै, आजै बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक असोज १२ गते बोलाइएको छ ।

भदौ २६ गते हृदयाघातका कारण निधन भएका नेम्वाङको बिहीबार नै अन्त्येष्टि गरिएको छ ।
नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुन:स्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य थिए ।
नेम्वाङ विसं २०६३ मा पुन:स्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष थिए ।
यसैगरी, २०५६ मा प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखासमिति सभापति भएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए । संविधान सभामार्फत् नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।














प्रतिक्रिया