
मकवानपुर, २८ भदौ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत दुईजना डाक्टरमाथि कुटपिट भएको छ ।
बुधवार हेटौंडा-१ स्थित रहेको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको हो । एक महिना अघि डेंगुको कारण मृत्यु भएका पुरुषको आफन्तहरुको समूहले डाक्टरले लापरबाही गरेको भन्दै कुटपिट गरेका हुन् ।
डेंगु र स्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको अस्पतालमा उपचार गरिएको र त्यहाँबाट चितवन पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मृत्यु भएको एक महिनापछि उनका आफन्त सहितका युवाहरु अस्पताल प्रवेश गरेर डाक्टरहरुमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कुटपिटबाट डा. थापाको गाला र अनुहार सुनिएको छ भने डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया