काठमाडौँ, १९ जेठ । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रबन्धक सुगतरत्न कंसाकारले नेपाली ध्वजाबाहक जहाज अमेरिका र अष्ट्रेलियासम्म पुर्याउने लक्ष्यका साथ काम गर्ने बताउनुभएको छ ।
पत्रकारसँगको भेटमा उहाँले विश्वका विभिन्न मुलुकमा नेपाली ध्वजाबाहक जहाजले उडान भर्ने तथा बढी भन्दा बढी विदेशी पर्यटकहरु नेपाल भित्र्याउने अर्जुनदृष्टिका साथ आफूले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “नेपालको विकास गर्ने हो भने पर्यटन क्षेत्रको विकास जरुरी छ, पर्यटकबाट यहाँका ऐतिहासिक, पुरातात्विक मठ मन्दिर, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा, नदीनाला, पहाड पर्वत र हिमालको दृष्यावलोकन तथा ट्रेकिङबाट प्रशस्त पैसा कमाउन सकिन्छ ।”
आगामी चार वर्षभित्रमा ठूला जहाज खरिद गरेर अमेरिका, अष्ट्रेलियालगायतका विकसित देशमा नेपाली ध्वजाबाहक जहाज उडान गर्ने र अहिलेको भन्दा सयाँैं गुणा पर्यटक भित्र्याउने लक्ष्यका लागि अगाडि बढ्ने उहाँले बताउनुभयो । एकसय जना विदेशी पर्यटक नेपाल भित्र्याउन सकेमा यहाँका आठ/नौसय नेपालीले रोजगारी पाउने अवसर रहेको पर्यटन व्यवसाय जबसम्म फष्टाउन सक्दैन तब मुलुकको विकास सम्भव नभएको उहाँले बताउनुभयो ।
निगमसँग हाल दुई/दुईवटा पुरानो र नयाँ गरी चारवटा मात्र जहाज रहेको छ । नयाँ जहाज नकिनेसम्म विश्वमा नेपालको छवि राम्रो नहँुने बताउँदै उहाँले दिल्ली उडानका लागि तीन वटा र जापान अमेरिकाका लागि ठूलो बाइडबडी तीन/चार वटा तत्काल आवश्यक रहेकोमा जोड दिनुभयो ।
अहिले भएको चार वटा विमान प्रभावकारी रुपमा चलाउनका लागि व्यवस्थापनको सुधार गर्नु जरुरी रहेको बताउँदै उहाँले व्यवस्थापन सुधार सँगसँगै नयाँ विमान खरिद गर्ने योजनाका साथ अगाडि बढ्ने बताउनुभयो ।
निगम अरु संस्था जस्तो होइन भन्दै उहाँले पर्यटकसँग गाँसिएकाले पर्यटकलाई लोभ्याउन नयाँ नयाँ जहाज थपिंँदै निगमलाई उचाइमा पुर्याउन आफू लागि पर्ने बताउनुभयो ।
“निगमको व्यापार बढाउनु भनेकै जहाज थप गर्नुहो, जहाज नथपिकन व्यापार बढाउन सकिँंदैन त्यसैले जहाज थपका लागि सरकारको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्दै आफूलाई सरकारले विश्वास गरेर नै चार वर्षका लागि पुनः नियुक्त गरिएको हो” उहाँले भन्नुभयो ।
यसअघि विसं २०६५ कात्तिक २ गतेदेखि निगमको महाप्रबन्धकमा सात महिना र कार्यकारी अध्यक्षमा २३ महिना काम गर्ने उहाँलाई अवसर प्रदान भएको थियो । उहाँकै कार्यकालमा दुई वटा ठूलो न्यारोबडीका जहाज खरिद गर्ने कार्य प्रारम्भ भएको थियो । रासस
















प्रतिक्रिया