![]()
काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका नेता एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिए पनि अस्पताल पुर्याउनसाथ मृत्यु घोषणा गरिएको थियो ।
नेम्वाङको निधनको खबर सुनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायत नेताहरू राति नै अस्पताल पुगेका थिए । शालिन राजनीतिज्ञको छवि बनाएका नेम्वाङको महाप्रस्थानले मुलुकको कम्युनिष्ट आन्दोलन पीडामा परेको नेकपा एमालेले जनाएको छ । यस्तै उनको निधनबाट देश नै शोकमा डुबेको छ ।
मुलुकको राजनीतिमा सहमति र सहकार्यका पर्यायवाचीका रुपमा चिनिनुहुने नेम्वाङ चार पटक सर्वसम्मत सभामुख बनेका थिए । २००९ फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङ २०७९ सालमा भएको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
यसैबीच, सरकारले संविधान सभामा अध्यक्ष स्वर्गीय नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको छ ।
उहाँको निधनपछि आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङको असामयिक निधनप्रति दु:ख व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । साथै सरकारले अन्त्येष्टिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ ।
हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका शीर्षकहरू–














प्रतिक्रिया