२९ आश्विन २०८३, बिहिबार

नेपालमा विकासको गति : काम सकिनुपर्ने बेलामा फास्ट ट्र्याकको भौतिक प्रगति २६ प्रतिशतमात्रै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेपाली सेनाले चालू आर्थिक वर्ष २०८०/०८१ भित्र सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण सुरू गरेको काठमाडौं तराई मधेश द्रुत मार्ग सडक आयोजना निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत मात्रै रहेको जनाएको छ ।

सेनाले आज आइतबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म द्रुत मार्गको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको र हालसम्म निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको हो ।

त्यस्तै, आयोजनाको समष्टिगत वित्तीय प्रगति मोविलाइजेशनसहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ । आयोजनाअन्तर्गत तीनवटा सुरुङहरूको जम्मा लम्बाई ६ दशमलव ४१५ मिलोमिटर मध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात् ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ ।

त्यस्तै, खोकना क्षेत्रमा द्रुत मार्गको सुरू विन्दु निर्धारण गरी सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया सुरू गर्ने सुरू गर्नेगरी तयारी अवस्थामा रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमल विक्रम शाहले जानकारी दिए ।

त्यस्तै, सेनाले सैनिक कल्याणकारी कोषमा २०८० असार मसान्तसम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रूपैयाँ जम्मा भएको जनाएको छ । कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो ।

त्यस्तै, कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रूपैयाँ पुगेको सेनाले जनाएको छ ।

मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो फास्ट–ट्र्याक ५३ किलोमिटर सडकखण्ड मकवानपुर, ४ किलोमिटर काठमाडौँ, ७.९ किलोमिटर ललितपुर र ७.६ किलोमिटर बारामा पर्छ ।

एशियाली राजमार्ग डिजाइन मापदण्डअनुसार निर्माण भइरहेको यो द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर रहेको छ । १०.५९६ किलोमिटर पुलको हुनेछ भने ६.३८५ किलोमिटर सुरुङ मार्ग हुनेछ । बाँकी ५५.५१९ किलोमिटरमा सडक निर्माण गरिनेछ । जसलाई ११ क्लस्टरमा विभाजन गरिएको छ ।

मन्त्रिपरिषदको २०७४ वैशाख २१ गतेको बैठकले द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोहीअनुरूप २०७६ भदौ १ गते स्वीकृत गरिएको यो द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यस आयोजनाको अनुमानित लागत एक खर्ब ७५ अर्ब रूपैयाँ छ ।