
मकवानपुर, २४ भदौ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अराजक भएको आरोप लगाएका छन् ।
आइतबार ११०औँ बीपी जयन्तीको अवसरमा हेटौंडा–११ स्थित नवलपुरमा विपीको प्रतिमा अनावरण गर्न यहाँ आइपुगेका काइरालाले यस्तो बताएका हुन् ।
उनले वर्तमान प्रधानमन्त्री प्रचण्ड अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने तर्क गरे ।
उनले प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको समेत टिप्पणी गरे ।
‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौँ भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो,’ कोइरालाले भने ।
कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो ।’ उनले भने । प्रधानमन्त्री प्रचण्डले जातीय राज्य बनाइदिन्छौँ भन्दै हिँड्नु गतल भएको कोइरालाको भनाइ थियो ।















प्रतिक्रिया