
दार्चुला, २३ भदौ । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बीओपी)को स्थापना गरेको छ ।
बीओपीको सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले हिजो शुक्रबार उद्घाटन गरे ।
दार्चुला सदरमुकामबाट करिब ११२ किलोमिटर उत्तरतर्फ बीओपी स्थापना भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बीओपी गुल्मबाट करिब ११ किलोमिटरको दूरीमा रहेको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोलासहित ८ ठाउँमा बीओपी स्थापना गरी सकेको छ ।

तिंकरमा स्थापना भएको बीओपीसहित चीनतर्फ ९ वटा र भारततर्फ २४३ गरी बीओपीको संख्या २५२ वटा पुगेको छ ।
तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बीओपी स्थापनाका लागि हेलिकोप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भदौ १३ गते त्यसतर्फ पुर्याइएको थियो । बीओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बीओपीबाट छिमेकी मुलुकहरू भारतको नाभिडाङ्ग र चीनको ताक्लाकोट बजार नजिकै पर्दछ ।
कार्यक्रममा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्व गण कैलाली तथा नं. ४४ गण दार्चुलाका गणपति, नं. ५० गुल्म छाङ्गरुका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुखहरूलगायत सञ्चारकर्मी र स्थानीय बासिन्दाहरूको समेत उपस्थिति थियो ।















प्रतिक्रिया