२९ आश्विन २०८३, बिहिबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले सुरू गर्‍यो व्यावसायिक उडान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २३ भदौ । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ ।

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६:४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८:१५ बजे ४२ जना यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ ।

गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो । पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो ।

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए । उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए ।

काठमाडौँबाट उनीहरू आठ वटा हेलिकोप्टरमा पोखरा आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान अझै हुनसकेको छैन ।

विमानस्थल आन्तरिक उडानमा सीमित छ । यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो ।