
काठमाडौं, २२ भदौ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्लाको इलाका प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा रहेकी ३५ वर्षीया महिला थुनुवामाथि कार्यालयका डीएसपी दीपककुमार रायले बलात्कार गरेको भन्ने घटनाबारे विस्तृत रूपमा छानबिन गर्न माग गरेको छ ।
इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन ०८० भदौ २२ गते काठमाडौँमा सार्वजनिक गर्दै इन्सेकले घटनाबारे विस्तृत रूपमा छानबिन गर्न महिला प्रहरीको उपस्थितिमा बलात्कार भएको भनिएकी थुनुवा महिलासँग बयान लिने प्रक्रिया तत्काल सुरू गर्नुपर्ने बताएको हो ।
स्थलगत अध्ययनको क्रममा कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा रहेकी ३५ वर्षीया महिलाले सोही कार्यालयका डीएसपी दीपककुमार रायले ०७९ चैत ६ गते राती बयानका लागि आफ्नो कार्यकक्षमा बोलाएर दुई पटक बलात्कार गरेको बताएकी थिइन् । गत वैशाख १२ मा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि गएका बेला उनले स्वास्थ्यकर्मीहरूलाई बताएकी थिइन् ।
प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले प्रहरी हिरासतभित्रै महिला थुनुवा बलात्कृत हुनु गम्भीर प्रकृतिको घटना भएकाले देशभरका सबै प्रहरी कार्यालयअन्तर्गत रहेका महिला थुनुवा कक्षको सुरक्षामा महिला प्रहरी खटाउन समेत माग गरेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘आफ्नो पद, शक्ति वा अधिकारको प्रयोग गरी कुनै किसिमको दवाव, प्रभाव र प्रलोभनमा पारी यौनजन्य कार्य गर्नु हुँदैन भन्ने कानुनी व्यवस्थाको बर्खिलाप इलाका प्रहरी कार्यालय, कञ्चनपुर, सप्तरीका डीएसपी दीपककुमार रायले हिरासतमा रहनुभएकी महिलालाई यौन हिंसा गरेको शङ्का हुने ठाउँ देखिएका छन् । हिरासतमा रहनुभएकी महिलालाई बयानका लागि राती डिएसपीले बोलाएको प्रहरी अधिकार र पीडित महिलाले बताउनुले घटना भएको आशङ्का गर्न सकिन्छ । हिरासतमा दिनभर रहनुभएकी महिलालाई राती बयान लिएबाट घटनामा पीडितले लगाएको आरोपको छानबिन गर्नु प्रहरी र राज्यका जिम्मेवार निकाएको दायित्व हो ।’
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले घटनाबारे प्रहरी र अन्य निकायले बिस्तृत रुपमा छानबिन गर्नुको साटो दोषीलाई प्रहरी प्रशासनले संरक्षण गर्नुले न्यायलाई शक्तिले प्रभावित गरिरहेको भान भएको बताए । अध्यक्ष अर्यालले सुरक्षा निकायभित्रै सुरक्षा घेरामा रहनुभएकी महिलामाथि बलात्कार हुनु जघन्य अपराधमा भएको उल्लेख गर्दै अपराधमा संलग्नलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन र कारबाही गर्नुपर्ने उल्लेख गरे ।
त्यसैगरी, प्रतिवेदन सार्वजनिक गर्दै महिला पुन: स्थापना केन्द्र (ओरेककी) अध्यक्ष रेणु अधिकारीले पीडित महिलालाई डीएसपी रायले मुख थुनी बोल्न कराउन नदिइ जबर्जस्ती करणी गरिएको र पुन: हिरासत कक्षबाट बाहिर कार्यकक्षमा लगेर बलात्कार गरेपश्चात बलात्कार गरेको कुरा कसैलाई भनेमा २० वर्षसम्म जेलमा सडाइदिने भनेर धम्की दिएको बताइन् ।
राजभण्डारीले जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र केसीलाई घटनाबारे जानकारी गराए पनि बलात्कार भएको कुरा किन लामो समयपछि भनेको भन्दै उल्टै पीडितलाई पीडा दिने काम गरेको उल्लेख गरिन् ।
त्यस्तै, इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले पीडितको घटना बाहिर ल्याउँदा आफूमाथि प्रहरीले रिसिइबी साँधेर कुटपिट गरेको उल्लेख गरे । पोखरेलले प्रहरीकै जिम्मेवार अधिकारी बलात्कार घटनाका आरोपित आरोपित भएपछि उपल्लो तहका हाकिमले संवेदनशील र थप जिम्मेवारीका साथ अनुसन्धान गर्नुपर्नेमा घटनालाई लुकाउने, घटना बाहिर ल्याउने मानव अधिकार रक्षकमाथि आग्रह पूर्वाग्रह राखेको बताए ।
विभिन्न तथ्यहरूका आधारमा घटना भएको हुनसक्ने आधारहरू फेला परेकाले घटनाबारे गहिरो अनुसन्धान गरी आरोपितलाई कानुनी दायरामा ल्याउनुपर्नेमा पोखरेलले जोड दिए ।















प्रतिक्रिया