
काठमाडौं, २१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीय स्तरहरूमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् ।
इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले डिजिटल युगमा प्रविधिको दुरूपयोगबाट भएका अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताएका हुन् । उनले आपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आपसी सूचना आदान प्रदान हुनुपर्ने पनि उल्लेख गरेका छन् ।
नागरिकहरू भय र शोषणबाट मुक्त हुन सक्ने वातावरण सिर्जना गर्न सबै सुरक्षा निकाय मिलेर काम गर्नुपर्ने चर्चा गर्दै मानवअधिकारको संरक्षणलाई प्राथमिकतामा राखी र न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्तहरू पालना गरी कानून कार्यान्वयनको सुनिश्चित गर्दै कानून कार्यान्वयन गर्ने निकाय र समुदायबीच विश्वास निर्माण गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री दाहालले इन्टरपोलसँगको साझेदारीमा नेपाल प्रहरीको उपलब्धि र योगदानको स्मरण गर्ने ‘इन्टरपोल कफि टेबल बुक’ सार्वजनिक गरिएको चर्चा गर्दै पुस्तक प्रहरीको कडा परिश्रम र व्यावसायिकताको प्रमाण भएको बताए ।
कानून र व्यवस्था कायम राख्न, अन्तर्राष्ट्रिय अपराधसँग लड्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीका प्रयासहरू उक्त पुस्तकले प्रदर्शन गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ‘विशेष संस्मरणात्मक आवरण’ जारी गर्नाले नेपाल र इन्टरपोलबीचको बलियो सम्बन्धको प्रतीक, विश्वव्यापी अपराध विरुद्धको लडाईंमा आवश्यक एकता र सहकार्यको प्रतिनिधित्व गरेको उल्लेख गरे ।















प्रतिक्रिया