१६ कार्तिक २०८३, सोमबार

मेलम्ची खानेपानी आयोजनाको जग्गा कब्जा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

melamchiकाठमाडौँ, १९ जेठ । भूकम्पपछि स्थानीयवासी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र निर्माणस्थलमा अस्थायी टहरा बनाएर बस्न थालेका छन् ।

गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा अधिग्रहण गरिएको २०१ रोपनी जग्गामा बनिरहेको प्रशोधन केन्द्र निर्माणस्थलमा आफ्नै जग्गा हुनेले समेत कब्जा गरी बसेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

भूकम्पपछि पाल हालेर बसेका पीडितले जस्तापाता प्रयोग गरी अस्थायी टहरा राखेकामे समितिका वरिष्ठ इन्जिनियर रामप्रसाद खरेलले बताउनुभयो । “आफ्नो जग्गा भएका मानिस पनि प्रशोधन केन्द्र निर्माणस्थलमा अस्थायी टहरा बनाएर बसेकाले जिल्ला दैवीप्रकोप उद्धार समिति काठमाडौँलाई पत्र लेखी आवश्यक परेका बेला प्रशोधन केन्द्रका काममा अवरोध नपु¥याउन पत्राचार गरेका छौँ, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रहरीलाई पनि यसको बोधार्थ दिएका छौँ” – उहाँले भन्नुभयो ।

समितिका तर्फबाट प्रशोधन केन्द्र निर्माणको काम हेर्न खटिएका स्थलगत इन्जिनियर ब्रह्मलाल राजभण्डारी आफ्नै जग्गा भएका पीडित पनि घर भत्किएका सामग्री छरिएको बताउँदै प्रशोधन केन्द्र निर्माणस्थलमा बसेको बताउनुहुन्छ “सुरुङको दक्षिणतिर प्रशोधन केन्द्र निर्माणस्थलमा २५ वटा जस्तापाता हालेका टहरा बने, टहरामा बस्नेलाई काम परेपछि ठाउँ छाड्न भनेका छाँै तर घर भत्किएका सामग्री जग्गामा छरिएकाले खुला ठाउँ खोज्दै यहाँ आएको स्थानीयवासीले बताएका छन्” – राजभण्डारीले भन्नुभयो ।

मेलम्ची सरोकार समितिका अध्यक्ष ध्रुवबहादुर घिमिरे आयोजनाको जग्गा कब्जा गर्ने उद्देश्यले नभई जग्गामा पनि आफ्ना भत्किएका घरका संरचना आइबसेकाले खाली ठाउँ खोज्दै प्रशोधन केन्द्र निर्माणस्थलमा टहरा बनाउन बाध्य हुनुपरेको बताउनुहुन्छ ।

“तिहारसम्म कागज गरेरै यहाँ बस्न चाहन्छौँ, अहिले वर्षा लागिसकेकाले कहीँ जान सक्ने अवस्था छैन, मेलम्ची खानेपानीको प्रशोधन केन्द्र निर्माणस्थललाई कब्जा गर्ने हाम्रो उद्देश्य होइन” – उहाँले भन्नुभयो ।
आयोजनाको काम नरोकिने
आयोजनाको सुरुङको काममा पहिरोका कारण अवरोध नभए पनि मजदुर घर भत्किएकाले काम छाडी हिँडेका छन् । जीवन सामान्य भएपछि काम रोक्नुहुन्न भनी निर्देशन दिइएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी कवीन्द्रविक्रम कार्की बताउनुहुन्छ । “राष्ट्रिय गौरवको आयोजना भूकम्पको प्रभावले जीवन सामान्य बन्दै गएको अवस्थामा रोक्नुहुन्न भन्ने मन्त्रालयको निर्देशन छ, पानी विसं २०७३ असोजसम्ममा ल्याउनका लागि छिटो काम सुरु गरिनुपर्छ” – उहाँले भन्नुभयो ।

मन्त्रालयका प्रवक्ता पद्मकुमार मैनाली मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका ठेकेदारलाई जेठ १३ गतेदेखि नै काम थाल्न निर्देशन दिइएको बताउनुहुन्छ । “भूकम्पको त्रास कम हुँदै गएकाले कुनै बहाना नबनाई छिटो गतिमा काम गर्न निर्देश गरेका छौँ, खानेपानीको सुरुङ मार्गमा सामान्य पहिरो गए पनि ठूलो समस्या नभएकाले काम रोक्नुपर्ने कुनै कारण छैन” – उहाँले भन्नुभयो ।
भूकम्पपछि आयोजनाको सुरुङ खन्ने काम रोकिएपछि परामर्शदाता कम्पनी पौरे इन्फ्रा ए जीले तीन पटक इटालेली ठेकेदार सिएमसी कम्पनीलाई पत्राचार गरिसकेको छ ।
सिन्धुपाल्चोकको अम्बाथानमा ढुङ्गा खसेर पहिरो आए पनि ग्याल्थुम र सिन्धु एवम् काठमाडौँको सुन्दरीजलबाट सुरुङ खन्न रोक्नुपर्ने अवस्था प्राविधिक अध्ययनबाट नदेखिएको आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताउनुभयो ।

भूकम्पले आयोजनाको बाहिरी आवरणमा केही प्रभाव नदेखिए पनि सुरुङ निर्माणस्थलमा जाने प्रवेश मार्गमा चिरा परेको छ । मार्गका ठाउँ ठाउँमा पहिरो गएको छ । सिन्धुपाल्चोकका धेरै जमिन चिरा परेकाले आयोजनाको मुहानस्थललगायत अम्बाथान, ग्याल्थुम र सिन्धुको सुरुङ निर्माणस्थलमा जाने प्रवेश मार्गमा क्षति भएको छ । “पछिल्लो प्राविधिक अध्ययनले अम्बाथान बाहेकका सुरुङमा काम गर्न जान सकिने देखिएको छ” – उहाँले भन्नुभयो ।
ठेकेदार कम्पनीलाई जान सकिने स्थानमा गई छिटो काम सुरु गर्न पत्राचार गरिसकिएको छ । ठेकेदार कम्पनी मानसिक रुपमा काम गर्न तयार नभएकाले गत वैशाख १२ पछि काम रोकिएको छ । मजदुरलाई मानसिक रुपमा काममा तयार पार्न कुरा गर्न खोज्दा ठेकेदार कम्पनीले वातावरण तयार नपारेको कार्यकारी निर्देशक भट्टराईले गुनासो गर्नुभयो ।

भूकम्पले सुरुङभित्र क्षति धेरै नदेखिए पनि वैशाख २९ गतेपछि कोही छिर्न सकेका छैनन् । सुरुङभित्र जाने प्रवेशमार्ग निर्माण गर्न ठेकेदार कम्पनीलाई पटक पटक भन्दा पनि काम भएको छैन । “ठेकेदार कम्पनीले सुन्दरीजलको पानी प्रशोधन केन्द्र निर्माणस्थलमा वैशाख १२ गते डोजरले सम्याई स्थानीयवासीलाई बस्न दिएर समितिको कार्यालयमा सामान राख्न ठाउँ भएन, खाली ठाउँ स्थानीयवासीले कब्जा गरे भनी पत्र पठाउने विवादास्पद काम गरेको छ” – उहाँले भन्नुभयो । रासस