
काठमाडौं, १९ भदौ । नेपाली राइड शेयरिङ प्लेटफर्म टूटल नयाँ व्यवस्थापन टोलीका साथ बजारमा आएको छ ।
ज्याप सर्भिसेस प्रालिले टूटल ब्रान्डमा पुन: बजारमा राइड शेयरिङ सेवा ल्याएको हो ।
डेलिभरी सेवा उपलब्ध गराउने कम्पनीका रूपमा परिचित ज्यापले राइड शेयरिङ बजारमा टूटलको पुनरागमन भएको जानकारी दिएको छ ।
नयाँ व्यवस्थापन टीममार्फत टूटलले राइड शेयरिङको अनुभव थप परिष्कृत र किफायती बनाउने प्रतिवद्धता जनाएको छ । यसका लागि कम्पनीले गत शुक्रबार राइडरहरूका लागि टूटल ड्राइभ एप सार्वजनिक गरेको थियो ।
टूटल प्रयोग गर्ने सेवाग्राहीले भने भोलि अर्थात् भदौ २० गतेदेखि एपमार्फत राइड सेवा लिनसक्ने ज्याप सर्भिसेस प्रालिका सहसंस्थाक रुबिक जोशीले बताए । उनका अनुसार हालसम्म दुई हजार बढी राइडर सिस्टममा जोडिएका छन् । औपचारिक रूपमा सेवा सुरु गरेपछि राइडहरू थप जोडिने उनको भनाइ छ । साथै टूटललाई राइड शेयरिङ प्लेटफर्मका अतिरिक्त समुदाय लक्षित विभिन्न सेवामा प्रयोग गर्ने योजना ल्याएको उनले सुनाए ।
टूटलमा हाल राइडरहरूको प्रोत्साहनका लागि नि:शुल्क दर्ताको सुविधा दिइएको छ । एप सार्वजनिक भएको अवसरमा कम्पनीले सुरुवाती एक महिनाका लागि बाइक राइडरबाट १५ प्रतिशत र क्याब ड्राइभरबाट १२ प्रतिशतमात्र कमिसन लिने निर्णय गरेको कम्पनीका सह–संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेयस कृष्ण श्रेष्ठले बताए ।
एक महिनापछि भने बाइकबाट २० प्रतिशत र क्याबबाट १५ प्रतिशत कमिसन लिने बताइएको छ । पूर्णकालीन राइड सेवामा संलग्न राइडहरूबाट कम कमिसन लिने र कम्पनीमार्फत राइडरहरूलाई विशेष स्किम प्रदान गर्ने योजना ल्याएको सीईओ श्रेष्ठले सुनाए ।
टूटलको पुनरागमनले प्रयोगकर्ताहरूको आवश्यकतालाई वास्तवमै बुझ्ने र अनुमान गर्ने उत्कृष्ट सवारी साझेदारी सेवा प्रदान गर्ने आफ्नो समर्पणलाई प्रतिनिधित्व गर्ने उनले बताए ।
नयाँ व्यवस्थापनसँगै आएको टूटलले युजर एक्सपिरियन्सलाई बढावा दिएको र सवारी बुकिङ सहज बनाउने कम्पनीको दाबी छ । नयाँ एपमार्फत सेवाग्राहीले बिना कुनै झन्झट सवारी बुक गर्न सक्ने कम्पनीका सहसंस्थापक चिफ अपरेटिङ अफिसर केयुष श्रेष्ठले बताए ।
उनका अनुसार प्रयोगकर्ताले राइड बुक गरिसकेपछि धेरै समय पर्खिनु नपर्ने, राइडरले छिटो पिकअप गर्ने, सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्ने गरी एप विकास गरिएको छ ।
टूटल नयाँ व्यवस्थापनको स्वामित्वमा आएसँगै राइडर र ग्राहकले पुरानो टूटल एप अपडेट गरी नयाँ एप प्रयोग गर्न सक्नेछन् । नयाँ प्रयोगकर्ताले भने गुगल प्लेस्टोर र आईओएस एपस्टोरबाट टूटल एप इन्स्टल गर्नुपर्छ ।















प्रतिक्रिया