
काठमाडौं, १९ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एशिया कप क्रिकेट प्रतियोगितामा नेपालको सहभागिताले नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावनाको ढोका खोलेको बताएकी छिन् ।
आज मंगलबार नेपाली क्रिकेट टीमका लागि ‘बधाई तथा शुभकामना सन्देश’ जारी गर्दै उनले विश्वकप विजेता टीमहरूसँगको प्रतिस्पर्धाबाट नेपाली खेलाडीहरूले विश्व क्रिमेटप्रेमीहरूको मन जितेको नयाँ सम्भावनाको ढोका खोलेको समेत बताएकी हुन् ।
‘पाकिस्तान र श्रीलंकामा जारी एशिया कप क्रिकेट २०२३ मा सहभागी नेपाली क्रिकेट टीमले भारत र पाकिस्तान जस्ता क्रिकेटको लामो इतिहास भएका र विश्व कप जितिसकेका उच्च व्यावसायिक टीमहरूसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरी विश्वका क्रिकेटप्रेमीहरूको मन जित्न सफल भएको छ । यसबाट नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको छ,’ पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छिन्, ‘मुलुकले उच्च तहको क्रिकेटमा नयाँ सुरुवात गर्नु हामी सबैका लागि खुसी र गर्वको विषय हो ।’
यसैगरी, मलेसियामा सञ्चालन भइरहेको टी–ट्वान्टी महिला विश्वकप छनोट प्रतियोगितामा पनि नेपाली महिला क्रिकेट टीमले उत्कृष्ट प्रदर्शन गरिरहेकामा भण्डारीले थप सफलताको कामना पनि गरेकी छिन् । उनले नेपाली क्रिकेट टीमका खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट संघलाई समेत बधाई तथा शुभकामना ज्ञापन गरेकी छिन् ।
क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यावसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्ने भन्दै उनले विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने विषयमा दुई मत नरहेको सन्देशमा उल्लेख गरेकी छिन् ।
सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूले क्रिकेटलगायत समग्र नेपाली खेलकुदको विकासमा थप लगानी गर्नु अत्यावश्यक रहेको पनि उनले उल्लेख गरेकी छिन् ।















प्रतिक्रिया