
काठमाडौं, १८ भदौ । जारी एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।
समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्नेछ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ ।
नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो ।
त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो । नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो ।
अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अंक बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका हुन् ।
समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान दुई खेलमा एकमा जित र एकमा अंक बाँड्दै तीन अंकका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अंक छ । एक खेल खेलेको नेपाल अंकविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
नेपालको सम्भावित प्लेइङ ११
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी
भारतको सम्भावित प्लेइङ ११
रोहित शर्मा (कप्तान), विराट कोहली, इशान किशन (विकेटकिपर), शुभमन गिल, श्रेयस अय्यर, , हार्दिक पाण्डेय, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शामी, मोहम्मद सिराज















प्रतिक्रिया