
काठमाडौं, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु रहेको बताएका छन् ।
हेलो सरकारको २४ घण्टै सेवा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे-जति सेवा प्रवाहमा सुधार गरेपनि या सुशासनका कुरा गरेपनि यसले केही अर्थ नराख्ने बताएका हुन् ।
‘सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु हो । जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे-जति सेवा प्रवाहमा सुधार गरेपनि या सुशासनका कुरा गरेपनि यसले केही अर्थ राख्दैन । त्यसैले म नेपाल सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशित गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्रीले जनताका गुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके मात्रै लोकतन्त्र बलियो हुने बताउँदै जनताको गुनासो तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जान सक्ने बताए ।
प्रधानमन्त्रीले भने, ‘विश्वका लोकतान्त्रिक मुलुकहरूका लागि आजको प्राथमिकता भनेको नै सार्वजनिक निकायहरूमा पारदर्शिता र उत्तरदायी प्रणालीको प्रवर्धन गरी नागरिकको विश्वास आर्जन गर्नु हो । वर्तमान राज्यप्रणालीप्रति नागरिकहरूको सकारात्मक अपेक्षा हुनु स्वाभाविक नै हो । यी अपेक्षाबीच जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जान सक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवर्द्धनको कडीको रूपमा हेलो सरकारलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारको विषयमा सचिवज्यूहरूसँगको बैंठकमा मैले दिशानिर्देश गरेको थिएँ । यसैगरी संसदमा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छु ।’















प्रतिक्रिया