
काठमाडौैं, १५ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रियताको रक्षा र समाजवाद उन्मुख काम अगाडि बढाएकै कारण एमाले चौतर्फी घेराबन्दीमा परेको यथार्थ जनतालाई बुझाउनुपर्ने बताएका छन् ।
आज शुक्रबार उपत्यका विशेष प्रदेश कमिटीको प्रचार कार्ययोजना बैठकमा उनले संविधानबमोजिम समाजवादका आधार तयार गर्ने गरी काम थालेकै कारण नेकपा एमाले र यसको नेतृत्वमाथि चौतर्फी हमला भइरहेको बताएका हुन् ।
उनले पार्टी र यसका नेतृत्वविरुद्ध आक्रमण भइरहँदा यसका लाखौं कार्यकर्ता मुकदर्शक भएर नबस्न निर्देशन दिए । नेता गौतमले समसामयिक एजेण्डामा केन्द्रित भएर सबै नेताकार्यकर्ता बोल्ने र लेख्ने काममा लाग्नुपर्ने समेत बताएका छन् ।
बैठकमा पार्टी पोलिटव्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले प्रचार कार्ययोजना विशेष प्रदेश र अन्तर्गतका जिल्ला कमिटीबाट प्राथमिकताका साथ कार्यान्वयनमा लगिने बताए । उनले युवा र किशोर समूहलाई पार्टीका नीति, विचार कामका आधारमा जोड्नका लागि आधुनिक सञ्चारका विभिन्न माध्यमहरूको प्रयोगमा जोड दिए ।
उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले प्रचार कार्ययोजना कार्यान्वयनका लागि सबै जिल्ला कमिटीका प्रचार विभागलाई व्यवस्थित गरेर अगाडि बढाइने बताए ।
बैठकमा एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले केन्द्रको प्रचार कार्ययोजना प्रस्तुत गरेका थिए । त्यसैगरी, उपत्यका विशेष प्रदेशका उपसचिव उर्मिला सुनुवारले उपत्यका र अन्तर्गतका जिल्ला कमिटीका प्रचारका काम र भावी योजना प्रस्तुत गरेका थिए भने प्रेस चौतारीका कोषाध्यक्ष इन्द्र आचार्यले सोसल मिडिया सञ्चालनका सम्बन्धमा जानकारी गराएका थिए ।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू बीना श्रेष्ठ, सीता लामा, गोविन्द दुलाल अतिथिका रुपमा उपस्थित थिए । उपत्यका विशेष कमिटी प्रचार विभाग प्रमुख श्रीधर आचार्यले सञ्चालन गरेको बैठकमा उपत्यका प्रदेश कमिटी अन्तर्गतका चार जिल्ला कमिटी र सञ्चार इलाका कमिटीका अध्यक्ष, प्रचार विभाग प्रमुख र प्रतिनिधिहरुको सहभागिता थियो ।















प्रतिक्रिया