
काठमाडौं, १५ भदौ । नेकपा माओवादी केन्द्रले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटालाई पत्रकारहरूले सोधेको प्रश्नमा नयाँ नक्साबारे कुराकानी हुने जवाफ दिएका हुन् ।
चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै प्रवक्ता सापकोटाले कुटनीतिक तबरबाट विषय उठान र हल गरिने विश्वास व्यक्त गरे ।
‘चीनले जारी गरेको नक्सामा किन महत्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कुटनीतिक माध्यमबाट कुरा हुन्छ । मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ । त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ । त्यसबारे सरकार प्रष्ट हुँदै जनतालाई पनि प्रष्ट पार्नुपर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर त्यतैबाट असोज ५ गते चीन भ्रमणमा जाने तयारी छ ।















प्रतिक्रिया