२९ आश्विन २०८३, बिहिबार

विश्वकै पहिलो शो ‘एग्रिकल्चर गेम रियालिटी शो’ घोषणा, को–को छन् होस्ट र जज ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । विश्वकै पहिलो ‘एग्रिकल्चर गेम रियालिटि शो’को आज घोषणा भएको छ ।

कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशीला बनाएको कार्यक्रमको आज राजधानीमा एक कार्यक्रम गरी घोषणा गरिएको हो ।

ई. स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शो मा एग्रिकल्चर र इन्टरटेनमेन्ट दुई विधाको संयोजनबाट एग्रिटेनमेन्टको परिकल्पना गरिएको छ ।

यो शोमा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । किसान भन्नाले कुनै पनि कृषि पेशामा व्यावसायिक रूपले आवद्ध व्यक्ति भनेर परिभाषित गरिएको छ भने कृषि प्राविधिक भन्नाले बीएससी एग्रिकल्चर वा सो सरह पढेका व्यक्तिहरू भनेर परिभाषित गरिएको छ ।

कार्यक्रमबाटै शोका सर्जक एवम् निर्देशक शैलेश कँडेल क्षेत्री, मास्टर होस्ट राजेश हमाल, ग्राण्ड जजका रूपमा डा. योगेन्द्र कुमार कार्की र डा. नम्रता पाण्डेलाई परिचित गराएको छ ।

कार्यक्रममा मास्टर होस्ट राजेश हमालले नेपालको विकास गर्नु छ भने व्यावसायिक कृषि सँगै कृषि क्रान्ति अपरिहार्य रहेको बताए । यो कार्यक्रमबाट आम समाजले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेमा आफू दृढ रहेको हमालको भनाइ छ ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधि, किसान समुहका प्रतिनिधि, प्राध्यापक, व्यापारिक संघसंस्था, पत्रकार, विध्यार्थी लगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित वक्ता तथा अतिथिले कृषि र प्राथमिक उत्पादनको क्षेत्रमा बढेको निराशामा यस रियालिटी शोले कमी ल्याउने विश्वास व्यक्त गरेका थिए ।

शोका निर्देशक शैलेश कँडेल क्षेत्रीले यो शो किसान र कृषि प्राविधिकहरू बीचको प्रतिस्पर्धा नभएको बताएका छन् । कृषि आधुनिकीकरणबाट मात्र नेपालको वास्तविक परिवर्तन सम्भव रहेको निर्देशक कँडेलले जानकारी दिए ।

किसान प्रतिस्पर्धी, किसान सँगै प्रतिस्पर्धा गर्ने र उत्कृष्ट एक जना विजेता बन्ने र प्राविधिक प्रतिस्पर्धी, प्राविधिकसँगै प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट एक विजेता बन्ने कार्यकारी निर्माता विजय बस्यालले बताए ।

कृषिका विविध आयामहरू कृषि पर्यटन, कृषि वन, पुष्प व्यवसाय, फलफूल खेती, जडीबुटी, अन्नबाली, नगदेबाली, पशुपालन लगायतका क्षेत्रमा उत्पादन, बजार व्यवस्थापन, बिक्री, प्रविधि, दिगो कृषि अभ्यास, वित्तीय ज्ञान, मुल्य श्रृंखला, आदि विषयमा रहेर प्रतिस्पर्धा हुने यो शोको लक्ष्य सकारात्मक मानसिकता विकास गरी सुखी र समृद्ध राष्ट्र बनाउने रहेको बताइएको छ ।

साथै, गेम रियालिटी शोको प्रोमो पनि सार्वजनिक गरिएको छ ।