
काठमाडौं, १४ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको अभियानबाट विश्राम नलिने बताएका छन् ।
नेपाल पर्वतारोहण सङ्घको ३३औँ वार्षिक साधारणसभाको उद्घाटनमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन स्थापित गरेर मात्रै समृद्धिलाई तीव्रता दिने बताए । उनले समृद्धिको यात्रा अगाडि बढाउन सुशासनको अभियानलाई प्रभावकारी ढङ्गले अघि बढाउनुको विकल्प नरहेको धारणा राखे ।
“सरकारले सुशासनको अभियान छोड्ने छैन, विश्राम पनि लिँदैन”, उनले भने। सरकारले सुशासनको अभियानलाई सफल बनाएरै छाड्ने दाबी उनले गरे ।
सुशासन स्थापित गरेपछि मात्रै समृद्धिलाई तीव्रता बनाउन सकिन्छ भन्ने ध्येयका साथ सरकार लागिपरेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले भने, “भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य, अपराध नियन्त्रण, तस्करी र कालाबजारीलाई रोक्ने र त्यससँग सम्बन्धित अपराधीलाई कारबाही गरेर मात्रै सुशासन स्थापित गर्न सकिन्छ ।”
सरकारले चालेको भ्रष्टाचार र सुशासनको अभियानलाई रोक्न अहिले पनि सङ्गठित रुपमा प्रयास भइरहेको दाबी गर्दै मन्त्री श्रेष्ठले सरकार सुशासनको अभियानबाट कुनै पनि हालतमा विचलित नहुनेमा विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सबै राजनीतिक पार्टीले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नुपर्नेमा जोड दिए ।















प्रतिक्रिया