
काठमाडौं, १२ भदौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति आशंका नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको आज मंगलबार बसेको बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले गलत नियतका साथ उक्त विधेयक नल्याएको भन्दै आशङ्का नगर्न आग्रह गरेका हुन् ।
विधेयक ल्याउने क्रममा बिचौलिया हाबी भएको सांसदहरूको प्रश्नप्रति उनले आफूले निष्ठाको राजनीतिक नछाडेको भन्दै उक्त भनाइप्रति आपत्ति समेत जनाए । आजका दिनसम्म आफू कहीँ पनि नचुकेको र भोलिको दिन पनि नचुक्ने जिकिर उनको छ ।
निष्ठाको राजनीति गर्न नसकेको दिन आफूले राजनीति नै छाडिदिने भनाइ उनको छ ।
बैठकमा मन्त्री गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव भने पारित हुन सकेन । गणपूरक संख्या नपुगेपछि मंगलबार उक्त विधेयक अघि बढ्न नसकेको हो ।
सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसदहरुले नियमापत्ति जनाएका थिए । सांसदहरुको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको संख्या यकिन गर्न निर्देशन दिएका थिए ।
प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका सदस्यको एक चौथाई ६९ हुनुपर्नेमा ५९ मात्रै पुगेपछि बैठक स्थगित भएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते सोमबार बोलाइएको छ ।















प्रतिक्रिया