
काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भ्रष्टाचारको मामलामा सरकारले कसैलाई विभेद नगरेको र कानूनी समानताको सिद्धान्तलाई सरकारले पूर्णत: आत्मसात् गरेको बताए ।
प्रचण्डले आफ्नो सरकार गठन भएदेखि अहिलेसम्म सामाजिक न्यायको प्रत्याभूति सुशासनको सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहमा सुधारलाइ मुख्य प्राथमिकतामा राख्दै आएको जिकिर गरे । उनले भुटानी शरणार्थी प्रकरणलगायत सबै घटनामा राज्यले दबाबरहित तरिकाले निष्पक्ष छानबीन अघि बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने नयाँ आशा पलाएको दावी गरे ।
प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा हुन लागेको चीन भ्रमणका क्रममा दुई देशकाबीचका सहकार्यलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई थप सहज बनाउने र नयाँ नाका खोल्ने लगायतका विषयमा महत्वपूर्ण छलफल हुने र निष्कर्षमा पुर्याउने बताए ।
दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको र सोही दिशामा क्रियाशील रहेको स्पष्ट पार्दे प्रधानमन्त्री प्रचण्डले सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको धारणा राखे ।
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशको राजधानीको विस्तार र विकासका लागि सरोकारवालासँग थप छलफल गरेर निर्णय हुने उल्लेख गरे ।
राष्ट्रिय गौरवका आयोजनालाई थप गति दिन सरकारले आफ्ना संयन्त्रलाई पूर्णरुपमा परिचालित गरेको जानकारी दिँदै उक्त आयोजना यथाशीघ्र सम्पन्न गर्न जोड दिएको बताए ।















प्रतिक्रिया