काठमाडौँ, १८ जेठ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले भूकम्पपीडित कलाकारका अनुभवलाई ‘क्यानभास’मा उतारेको छ ।
भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा नजिकै आज आयोजित ‘कला कार्यशाला’ मा काठमाडौँ उपत्यकाका ३५ कलाकारले आ–आफ्ना कलाकृति प्रस्तुत गरेका थिए ।
कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानको चित्रकला विभागका प्रमुख रमेश श्रेष्ठले सहभागी कलाकारलाई क्यानभास हस्तान्तरण गर्नुभयो । सहभागी कलाकारले सोही स्थानमा प्रत्यक्ष रुपमा आफ्ना भावनालाई क्यानभासमा अभिव्यक्त गरेका थिए ।
चित्रमा अमूर्त तथा भत्किएका मठमन्दिर, गुम्बा, भूकम्पपीडितलाई आ–आफ्ना सिर्जनामा समेटेका थिए ।
भूकम्पपीडित कलाकारको सहयोगका लागि आयोजना गरिएको बताउँदै प्रमुख श्रेष्ठले भन्नुभयो – “चित्रकला बिक्रीबाट सङ्कलित ५० प्रतिशत रकम कलाकारलाई प्रदान गरिनेछ भने ५० प्रतिशत रकम ‘नाफा राहत कोष’ मा दाखिला गरिनेछ ।”
कार्यशाला समापन गर्दै प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपाली कला जगत्मा आजको कार्यशाला नौलो किसिमको भएको बताउँदै प्रतिष्ठान भूकम्पपीडित कलाकारका निम्ति सहायता जुटाउन क्रियाशील छ भन्नुभयो ।
कार्यशालामा तयार पारिएका चित्र केही समयपछि प्रदर्शनीमा राखेर बिक्री गरिने छ । रासस















प्रतिक्रिया