
काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी)को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताएका हुन् । उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे । उनले सीमानासँग जोडिएका विषयवस्तुहरु चुनौतिको रुपमा आइरहेको भन्दै छलफल र संवादबाट टुंग्याउनुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु आइसकेका छन् । केही जल्दाबल्दा विषयहरु छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ की छैन ? भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सीमानासँग जोडिएका विषयवस्तुहरु पनि आएका छन् । सीमानासँग जोडिएको विषयवस्तु भित्र संवेदनशील कुराहरु छन् । संयुक्त राष्ट्रको बडापत्रदेखि लिएर असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ ।’
अध्यक्ष नेपालले संयुक्त राष्ट्रको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।











प्रतिक्रिया