२९ आश्विन २०८३, बिहिबार

कांग्रेस ब्युँझिएको दिन यो सरकारको आयु सकिन्छ : शेरबहादुर तामाङ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले सत्तारुढ समेत रहेको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ब्युँझिएको दिन वर्तमान सरकारको आयु सकिने बताएका छन् ।

आज काठमाडौंका आयोजित साक्षात्कार कार्यक्रममा उनले अहिलेको सरकारको आयु कांग्रेस नब्युँझिदासम्म मात्रै रहने बताएका हुन् ।

कांग्रेस अहिले चिर निद्रामा रहेको चर्चा गर्दै उनले कहिलेकाहीँ ब्युँझिएको जस्तो गर्‍यो भने पनि भ्रष्टाचारमा मुछिएको आफ्ना मान्छे जोगाउनमै रुमलिएको उनको टिप्पणी छ । ‘कांग्रेस अहिले ब्युँझिरहेको छैन, कांग्रेस अहिले चिर निद्रामा छ । कहिलेकाहीँ ब्युँझिएको जस्तो गर्छ, त्यसो हुँदा आफ्नो मान्छे को–को भ्रष्टाचारमा पर्न खोज्यो त्यसलाई बचाउने काममा लाग्नुहुन्छ,’ तामाङले भने ।

कांग्रेस नब्युँझिएकै कारण कोशी प्रदेश सरकार गठनका क्रममा संविधान उल्लङ्घन भएको पनि उनले बताएका छन् । अहिले कांग्रेस सुतिरहको र देशमा के भइरहेको छ भन्ने केही पनि थाहै नपाएको उनले बताए । त्यसैले देशको प्रमुख र पहिलो पार्टी यस्तो ढंगले किम्कर्तव्यविमुढ बनेर बस्न नहुने उनको भनाइ छ ।

मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको पनि उनले बताएका छन् । देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको बताउँदै उनले भने, ‘मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने म प्रस्ताव गर्न चाहन्छु्, दुई राजनीतिक पार्टी मिल्न सक्यौं भने करिब–करिब दुई तिहाईको स्थिति आउँछ । देशमा धेरै राजनीतिक दल हुनु यही अस्थिरता निम्त्याउनु रहेछ,’ उनले भने । यद्यपि, उनले नेकपा एमाले अहिले सरकार गठनको पक्षमा भने नरहेको स्पष्ट पारेका छन् ।

नेपालमा अहिले पछिल्लो समय धार्मिक र जातीय द्वन्द्व फैलिने वा फैलाउने खालको गतिविधि सुरू भएको भन्दै उनले दु:ख व्यक्त गरे । सबैले सचेततापूर्वक यस्तो स्थिति हुन नदिन मुलकका सबै धार्मिक सम्प्रदायहरू, सबै जातीय समुदायहरू संयम हुन आवश्यक रहेको उनको भनाइ छ । कुनै पनि धर्मले हिंसालाई प्रश्रय नदिएको र धर्मको उत्पत्तिको आधार हिंसा नभएको बताउँदै उनले के काट्न हुने, के काट्न नहुने भन्ने विषयको बहस आवश्यक नरहेको समेत तर्क गरेका छन् ।

उनले सबैले संयमतापूर्वक नेपालको राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कायम गर्ने कुरामा हामी सचेत हुन जुरुरी रहेकोमा जोड दिए । सबै वर्ग, समुदाय र धार्मिक सम्प्रदायहरूलाई उनले उग्रतामा नजान आग्रह गरे । धार्मिक, साम्प्रदायिक र जातीय रुपमा द्वन्द्वमा फसेको मुलुकले कहिले पनि प्रगति गर्न नसक्ने उनको भनाइ छ ।

नेपाललाई धार्मिक, साम्प्रदायिक र जातीय रुपमा द्वन्द्वतर्फ लैजान उकास्ने कुनै तत्वहरू भए त्यसलाई समयमै चिन्न जरुरी रहेको उनले बताए ।