
काठमाडौं, ९ भदौ । नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्तावित नेपाल सहकारी बैक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
हिजो शुक्रबार सम्पन्न छैठौँ बैठकले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले अबको केही महिनापछि बैक सञ्चालनमा आउने दाबी गरे ।
बैठकले नेपाल राष्ट्र बैकसँग आशयपत्र प्राप्त गरेपछि आशयपत्रको आधारमा सहकारी विभागले सञ्चालन स्वीकृति दिनेछ । तदर्थ समितिका अध्यक्ष भण्डारीले सो प्रक्रिया अघि बढाउन बैठकले निर्णय गरेको जानकारी दिए ।
बैंक स्वीकृति दिन सबै सरोकारवाला निकाय सकरात्मक देखिएको छ ।
यसअघि तदर्थ सञ्चालक समितिका अध्यक्ष भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरलगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा गभर्नर अधिकारीले बैक स्वीकृति दिन सकरात्मक रहेको बताएका थिए ।
साढे दुई अर्ब रूपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरूपमा विस्तार गरिने तयारी छ ।
सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा सङ्घको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिंग सेवा उपलब्ध गराउने उद्देश्य लिई सस्था वा सङ्घ आपसमा मिलि नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरू गठन गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, ०७७ माघ १० गते सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम सहकारी विभागमा बैक सञ्चालन गर्न निवेदन दर्ता भएको थियो । ०७८ जेठ २४ गते सहकारी विभागबाट नेपाल राष्ट्र बैंकको नाममा प्रस्तावित सहकारी बैंकलाई नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृित पत्र उपलब्ध गराउनको लागी पत्राचार भएको थियो ।















प्रतिक्रिया