
अर्जुनचौपारी (स्याङ्जा), ९ भदौ । निर्वाचित जनप्रतिनिधि कर्तव्यनिष्ठ र जवाफदेही नहुँदा सर्वसाधारणले कसरी दु:ख पाउँछन् ? निर्वाचन जितेको उन्मादमा रम्दा प्रतिस्पर्धीले मात्रै होइन सर्वसाधारणले समेत सास्ती भोग्न बाध्य हुन्छन् ।
सर्वसाधारणलाई सास्ती दिनुपर्ने कुनै कारण छैन् तर पनि विगत एक वर्षदेखि गाउँपालिकाका अध्यक्षको मनोमानी जारी छ, सर्वसाधारणले बिनाकारण मार खेप्दै आएका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामिण स्वावलम्बन साना किसान सहकारी संस्थाका केही पदाधिकारीहरूसँगको बेमेललाई देखाउँदै गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले गाउँपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रम बन्द गरेपछि र सिफारिस नगरेपछि स्थानीयले सास्ती भोग्दै आएका हुन् ।
२०५९ सालदेखि सञ्चालित सहकारीले साना किसान समूहमार्फत उत्पादनका गतिविधि गर्दै आएको थियो । अघिल्लो कार्यकालमा गाउँपालिकासँगको सहकार्यमा किसानलाई रासायनिक मल वितरण, पशु बिमा, टनेल तथा बिउबिजन वितरण, सहकारी शिक्षा, सुत्केरी स्याहार, मृत्यु संस्कार र अध्ययन अवलोकन भ्रमण गर्दै आएकोमा पछिल्लो समय पालिकाका अध्यक्ष तिवारीकै कारणले सबै कार्यक्रम अबरुद्ध भएका छन् ।
कृषि सामग्री कम्पनीबाट सहकारीले रासायनिक मल ल्याउन पालिकाको सिफारिस अनिवार्य छ । २०७९ को स्थानीय निर्वाचनपछि पालिका अध्यक्ष भएका प्रकाश तिवारीले सिफारिस रोकेपछि मल ल्याउन बन्द भएको छ । खासगरी युरिया, डीएपी र पोटास समेत वार्षिक एक हजार बोरा मल ल्याएर सहुलियत मुल्यमा बिक्री वितरण गर्दै आएको सहकारी आर्थिक वर्ष २०७९/०८० अवधिमा मल सेवा प्रबाह गर्न शून्यप्राय: छ ।
‘सहकारीका पदाधिकारीसँगको बेमेलकै आधारमा पालिका अध्यक्ष तिवारीले रासायनिक मल खरिद तथा बिक्री वितरण रोकेको मात्र होइन,’ सहकारीका अध्यक्ष बोधनारायण अर्यालले भने, ‘पालिकासँग सहकार्यमा सञ्चालित पशु बीमा, टनेल, बिउबिजन वितरण सेवा सबै रोकिएको छ ।’ सहकारीका झण्डै प्रत्यक्ष दुई हजार ६०० र अप्रत्यक्ष दुई हजार २०० जना किसान सेवाको मारमा परेका छन् ।
पालिकाले सेवा अबरुद्ध गरेपछि मारमा परेका सहकारीमा आबद्ध किसानहरू कालोबजारीबाट महँगो मुल्यमा रासायनिक मल किन्न बाध्य छन् । पालिकाले प्रतिकेजी २३ रुपैयाँमा रासायनिक मल बिक्रीवितरण गर्न निर्देशन दिएपनि स्थानीय बजारमा मल प्रतिकेजी ४० रुपैयाँसम्म बिक्री भएको छ । कालोबजारी नियन्त्रणमा समेत पालिका मुकदर्शक बनेको किसानको आरोप छ ।
किसानले पाउँदै आएको सेवा अबरुद्ध नगर्न पटक–पटक पालिकालाई आग्रह गरे पनि अध्यक्ष तिवारीको अटेरीले सीमा नाघेको भन्दै स्थानीय किसान आक्रोशित छन् । अटेरी गर्ने क्रम जारी रहे पालिकाबाट पाउने अन्य सुविधा समेत नलिएर आन्दोलित हुने मनस्थितिमा किसान पुगेका छन् ।
कांग्रेसबाट पालिकाको उम्मेदवार बनेका तिवारीलाई सहकारीका सदस्यहरूले सहयोग नगरेको आक्रोशस्वरुप उनले अहिले यस्तो हर्कत गरेको बताइन्छ । उम्मेदवारका रुपमा धेरैले मन नपराउँदा नपराउँदै पनि उनले निर्वाचन जिते । जितपछि आफूलाई बोलाएर सहकारीले खादा माला र अबीरसहित सम्मान नगरेको भन्दै अध्यक्ष तिवारी रिसाउँदै आएको र सोही रिसका कारण सेवा अबरुद्ध गगरेको समाचार स्रोतको दाबी छ ।
सेवा अबरुद्ध गर्दै आएका पालिकाका अध्यक्ष तिवारीले उक्त सहकारीलाई दर्ता खारेजसम्मको धम्की दिने गरेको स्वावलम्बनका एक पदाधिकारीले बताए । सहकारी डुबाउनेहरूको लहैलहै लागेर तिवारीले राम्रो काम गर्दै स्वावलम्बनलाई गिद्धे नजर लगाएको त्यी पदाधिकारीको बुझाइ छ ।
सहकारीलाई दिएको सिफारिसकै आधारमा सेवा उपभोग गर्दै आएका किसानहरू मारमा परेपछि सेवा अबरुद्ध किन गरेको हो ? भन्ने सवालमा दर्जन पटक फोन सम्पर्क गर्न खोज्दा अध्यक्ष तिवारी सम्पर्कमा आउन चाहेनन् ।
सोही प्रश्नमा सम्पर्क गर्दा उपाध्यक्ष सपना गुरुङको फोन उठेन । उता वडा नं. २ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता धनबहादुर गुरुङले सहकारी र सेवा अबरुद्धका बारेमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।















प्रतिक्रिया