३० आश्विन २०८३, शुक्रबार

युवा संघका अध्यक्ष थेबेमाथि ‘आङकाजी शेर्पाको योजनामा’ आक्रमण ?

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेमाथि धनकुटामा आक्रमण भएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टीनिकट कार्यकर्ता र आफूलाई पहिचानवादी बताउनेहरूको समूहले थेबेमाथि आक्रमण गर्दै ढुंगा हानेका हुन् । युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबीसे गाउँपालिका गइरहेका थेबेमाथि ढुंगामुढा भएको हो ।

त्यसअघि जसपासहित आफूलाई पहिचानवादी भनिने समूहले थेबेलाई धनकुटा छिर्न नदिने भन्दै सामूहिक विज्ञप्ति निकालेका थिए । युवा संघले आफूहरुमाथिको आक्रमणलाई सत्ताको संरक्षणमा भएको नियोजित घटना भन्दै प्रतिरोधमा उत्रिन बाध्य नबनाउन चेतावनी दिएको छ ।

यसैगरी, संघका इञ्चार्ज समेत रहेका एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले जसपाका केन्द्रीय सदस्य आङ्गकाजी शेर्पाको उक्साहटमा केही व्यक्तिले अध्यक्ष थेवेमाथि ढुङ्गामुढा गरेको आरोप लगाएका छन् । सरकारले आक्रमणकारीलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिने चेतावनी उनको छ । उनले जसपाका केन्द्रीय सदस्य आङकाजी शेर्पाको उक्साहटमा एमाले नेतामाथि आक्रमण भएको समेत बताएका छन् ।

‘आङकाजी शेर्पा भन्ने अराजकको उस्काहटमा केही व्यक्तिहरूले युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणमा चौबीसे जाने क्रममा अध्यक्ष क्षितिज थेवेमाथि ढुङ्गामुढा गर्ने काम गरेका छन् । लोकतन्त्रमा राजनीतिक गतिविधि नियन्त्रण गर्ने अराजक प्रवृत्ति राज्यले नियन्त्रण गरोस् नत्र प्रतिरोध गर्न बाध्य हुनेछौँ,’ बस्नेतले भनेका छन् ।

प्रदेश १ को नाम कोशी राखेकामा पहिचानवादीहरूले असन्तुष्टि जनाउँदै आएको छ । असन्तुष्टि जनाउँदै आन्दोलनमा समेत उत्रिरहेको समूहले एमाले नेता–कार्यकर्तामाथि निरन्तर आक्रमण प्रयास गरिरहेको छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वमुख्यमन्त्री तथा एमाले कोशीका नेता हिक्मत कार्की, सांसद रामबहादुर मगरलगायतमाथि उनीहरूले आक्रमण गरेका थिए ।