
काठमाडौं, ७ भदौ । ‘बैंक पनि साथी पनि’ नारा बोकेर तीव्र बैंकिङ सेवा दिँदै अघि बढिरहेको एनआईसी एशिया बैंकलाई कर्जा अपचलनको आरोप लागेको छ ।
गन्तव्य इन्भेष्टमेन्ट इन्टरनेश्नल प्रालिका अध्यक्ष बल्लभ नेपालले बैंकमाथि यस्तो कर्जा अपचलनको आरोप लगाएका हुन् ।
उनका अनुसार बैंकको ललितपुरस्थित खुमलटार शाखाले करिब एक करोड रुपैयाँ कर्जा अपचलन गरेको हो । कर्जा अपचलनमा सो शाखाका तत्कालीन शाखा प्रमुख अविनाश कर्ण संलग्न गरेको पनि नेपालले बताएका छन् ।
आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष नेपालले शाखा प्र्रमुख कर्णले आफूलाई प्रक्रिया पूरा भएको २४ घण्टाभित्र कर्जा उपलब्ध गराउने भनेपछि भक्तपुरको बालकोटस्थित आफ्नी श्रीमतीको नाममा रहेको तीन आना एक पैसामा बनेको डेढ तले घर धितो राखेर ९५ लाख कर्जाका लागि प्रक्रिया अघि बढाए पनि बैंकले आफूलाई कर्जा उपलब्ध नगराई शाखा प्रमुख नै फरार भएको बताएको जानकारी दिएका छन् ।
सबै प्रक्रिया पूरा भएपछि कर्णले कर्जा प्रवाहमा कडाइ भयो, थप एक महिनाभन्दा बढी लाग्ने भयो भनी अल्मल्याएको उनको भनाइ छ । ‘पहिले कर्जा प्रक्रिया पूरा गरेको २४ घण्टा मै मिलाइदिने भनेकाले मैले कर्जा प्रक्रिया पूरा गरेको हुँ । यदि कर्जा प्रवाह भएन भने मलाई अप्ठेरो पर्छ के गर्ने होला त ?’ भन्दा कर्णले उक्त रकम आफूले केहि दिनका लागि चलाउन पाउनुपर्ने शर्त राखेको उनले बताए ।
छिटो कर्जा पाउने आशामा कर्णको शर्तअनुसार आफूले पैसा चलाउन मौखिक स्वीकृति दिएको उनले बताए । पीडित नेपालका अनुसार उनले निकाल्न मिल्ने जति रकम सोही दिन निकालेर दिएको र बाँकी रकम निकाल्नका लागि चेकमा हस्ताक्षर र कम्पनीको छाप लगाएर कर्णलाई छोडिदिएका थिए ।
कर्णले आफूले नचिनेका व्यक्तिको नामबाट सबै पैसा निकालेको उनको भनाइ छ । कर्णले नै फिर्ता गर्ने बचन दिएको समय पूरा नभई बीचमा नै फोन गरेर कार्यालयमा बोलाएको उनले बताए । पीडित नेपालले बताएअनुसार कार्यालयमा बोलाएर कर्णले पुरानो पनि केही दिनमै फिर्ता गर्ने भन्दै अरु केही रकम खोज्न लगाएका थिए । त्यसपछि कर्णले महिनौसम्म रकम फिर्ता नगरेको, मेसेज गर्दा मिटिङमा छु, पछि कल गर्छु भन्ने गरेको पीडित नेपालको भनाइ ।
कर्ण त्यसपछि सकभर सम्पर्क मै आउन नचाहेको र सम्पर्कमा आए पनि ‘अहिले नै पैसा हाल्न लगाउँछु, पैसा अर्काको खातामा गएछ रिभर्स गर्नुपर्छ’ जस्ता आलटालको व्यवहार गरिरहे ।
त्यसपछि उनलाई कार्यालयमै भेटेर नेपालले ‘तपाईको कर्तुतका विरुद्ध तपाईको केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंकमा उजुरी गर्छु भने । त्यसपछि कर्णले ‘मेरो जागिर जाने काम नगर्नुस् । जसरी पनि तिर्छु, तपाइँको विश्वासका लागि म एनआईसी एशिया बैंककै कर्मचारी खाताको कारोबार बमोजिमको रकमको चेक दिन्छु’ भनेर विभिन्न मितिका चेक दिएका थिए ।
उनले दिएको ती चेकहरू नसाटिएको र बैकिङ कसुरको मुद्दा लगाउने थाहा पाएपछि कर्णले उल्टै आरोप लगाएर विभिन्न मिडियामा बोल्दै हिँडेको पीडित नेपालले बताए । नेकपा (माओवादी केन्द्र) मा आवद्ध भएर राजनीतिमा सक्रिय रहेका नेपाललाई कर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जोडेर विभिन्न हल्ला फैलाउँदै हिँडेको बताए । कर्णले प्रधानमन्त्री प्रचण्डको फोटो दुरुपयोग गर्दै विभिन्न आरोप लगाएको उनको भनाइ छ ।
उनले गरेको कर्तुत बाहिरिएपछि उनीभन्दा सिनियर बैंकका कर्मचारीले उक्त पैसाको बारेमा सोधखोज गर्दा कर्णले जग्गामा लगानी गरेको भन्ने जवाफ दिएको पीडित नेपालले सुनाए । त्यसपछि, बैंककै केही कर्मचारीले अहिलेको अवस्थामा ‘जग्गा दिएर ऋण उहाँलाई नै सेटल गराउन भन्नुस्’ भनेपछि कर्णले आफूलाई घर लिएर गएको पीडित नेपालले सुनाए ।
घरमा लगेपछि उनका आफन्तसँगको कन्भरसेसनको भिडियो आफूसँग रहेको उनले बताए । उनका बुबा, श्रीमतीलगायतले जिम्मा लिने बताएको उनले बताए । तर, त्यसपछि प्रधानमन्त्रीसँगको साँठगाँठमा घर खाने कोशिस गरेको भनेर नेपालमाथि नै अफवाह फैलाइयो ।
आफूले कर्णविरुद्ध दायर गरेको बैकिङ कसुरको मुद्दा विचाराधीन रहेको पनि उनले जानकारी दिएका छन् । कर्णलाई घटनापछि यही गत महिनादेखि बैंकले सेवाबाट हटाएको छ । कर्णसँग आफूले वास्तविक लिनुपर्ने रकममात्रै दाबी गरेको र मुद्दा विचाराधीन अवस्थामा रहेकाले बाँकी कुरा तथ्य र प्रमाणले बोल्ने उनले बताए ।
आफूविरुद्ध आएका समाचारलाई लिएर भ्रममा नपर्ने उनले सबैलाई अपीले गरेका छन् ।















प्रतिक्रिया