३० आश्विन २०८३, शुक्रबार

सत्ताको कोपभाजनले ६ महिना २६ दिनमै मन्त्री गुमाएका मोदी के भन्छन् ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा रहेर केही फरक र दीर्घकालीन महत्वको समेत काम गर्दै आएका अमनलाल मोदीलाई साउन २८ गते सरकारले फिर्ता बोलायो र उनको ठाउँमा जनमत पार्टीकी सांसद अनिता कुमारी साहलाई मन्त्री बनाएको छ ।

राम्रो काम गर्दै आएका मोदीलाई हटाएकोबारे उनको पार्टी नेकपा माओवादी केन्द्रभित्र र बाहिर समेत आलोचना पनि भइरहेका छन् । तर, सत्तासमीकरणको कोपभाजनमा परेर ६ महिना २६ दिनमै आफ्नो मन्त्री पद गुमाउन पुगेका मन्त्री मोदी चाहिँ यो मामिलामा के भन्छन् त ?

आज सोमबार थारु समुदायले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बक्ता रहेका उनले सरकारको स्थायित्वका लागि आफूले पद त्याग गरेको बताएका छन् । पछिल्लो समय सहजै पद त्याग गर्ने परिपाटी हराउँदै गएको बताउँदै उनले त्यो पुरानो परिपाटीलाई जागृत गराउनका लागि आफूले सहजै पद त्याग गरेको बताए ।

‘सरकारको स्थायित्वका लागि कसै न कसैको त्याग आवश्यक थियो, त्यो त्यागको लागि म अगाडि सरे, मैले आफैँले सहज तरिकाले पद छाडेको हुँ,’ कार्यक्रमका पूर्ववक्ताहरुले मन्त्रीबाट मोदीलाई फिर्ता बोलाएकोप्रति असन्तुष्टि पोखेपछि थप प्रष्ट्याउँदै उनले थपे, ‘सरकार सुशासन कायम गर्ने दिशामा अगाडि बढिरहेको छ, यो कुरा कैयन राजनीतिक दल र शक्ति केन्द्रलाई चित्त बुझिरहेको छैन । सरकारलाई अप्ठ्यारो पार्ने गतिविधि बढिरहेको छ । सरकारलाई मजबुद बनाउनका लागि प्रधानमन्त्रीलाई सहजता पैदा गराउनका लागि मैले पद त्याग गरेको हुँ ।’

राजनीतिक रुपमा जिम्मेवारी आउने र जाने प्रक्रिया स्वभाविक भएको समेत उनको भनाइ थियो । उनले थपे ‘जसले पदलाई सधैँ रहन्छ भन्ने सोच्छ, त्यो भुल हुन्छ । पदमा रहँदा देश र जनताको पक्षमा काम गरे कि गरेनन्, यो चाहिँ महत्वपूर्ण कुरा हो । मैले मेरो विवेकले भ्याएसम्म देश र जनताकै पक्षमा दूरगामी निर्णयहरु गरेँ ।’

मोदी २०७९ माघ ३ गते मन्त्री नियुक्त भएका थिए ।