डा. गोविन्द्रसिंह राउत
क्यानडा । क्यानाडाका नेपालीहरुको आगमनको इतिहासले आधा शताब्दी भन्दा बढी समय काटिसकेको छ ।
तथ्याङ्क अनुसार क्यानाडामा पन्ध्र हजारको हाराहारीमा नेपालीहरु छन् । त्यसमध्ये पनि पाँच हजारको हाराहारीमा विशाल टोरोन्टो क्षेत्रमा मात्रै छन् । त्यही टोरोन्टोमा क्यानाडाकै प्रतिष्ठित नेपालीका रुपमा परिचित छन्, टोरोन्टोका लागि अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्मा । चार दशक भन्दा बढी समयदेखि क्यानडा बस्दै आएका शर्माको आफ्नै वित्तीय परामर्श दिने व्यवसाय छ । डा. शर्मालाई उत्तर अमेरिकामा नचिन्ने विरलै छन् ।
एएनएबाट लिएर एनआरएनको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. कुञ्जर शर्मा साठीको दशकमा क्यानाडा आएका थिए । त्यसपछि यहीँ अध्ययनसँगै घरजम गरेर बसोबास गर्दै आएका छन् । उनका एकमात्र सन्तान ३२ वर्षीय बेञ्जामिन शर्मा यसपटक टोरोन्टोको ट्रिनिटी–स्पाडायना क्षेत्रबाट सत्ताधारी दल कन्जर्भेटिभ पार्टीका तर्फबाट यही ३० जुनमा सम्पन्न हुने उपचुनावमा प्रत्यासी बनेका छन् । उनको प्रतिस्पर्धा एडिपी पार्टीका जो क्रेसी रलिबरल दलका आडम भनसँग हुँदैछ । सत्ताधारी दलको उम्वेदवारका रुपमा केन्द्रीय राजनीतिमा कदम बढाउन थालेका शर्माको समर्थनमा आप्रवासी समुदायहरु गोलबन्द भएका छन् ।
नेपाली समुदायसँग बेञ्जामिनको सम्बन्ध सानैदेखि गाँसिदै आएको छ । नेपाली समुदायका प्रतिष्ठित समाजसेवीका रुपमा परिचित डा. कुञ्जर शर्माको नेपाली कार्यक्रमको प्रायःजसो कार्यक्रमहरुमा नेपाली टोपी लगाएर उपस्थित हुने गोरो केटो आज नेपाली समुदायको प्रतिनिधित्व गर्दै क्यानाडाको संसदीय चुनावमा प्रत्यासी बन्द नेपाली समुदाय खुसी बनेको छ ।
एउटा जेहेन्दार विद्यार्थीका रुपमा रहदै आएका बेञ्जामिनलाई एक शिक्षित युवा उम्वेदवारका रुपमा हेरिदैछ ।
क्यानाडामा पहिलोपटक नेपाली समुदायबाट प्रतिनिधित्व हुने यस चुनावमा यहाँका नेपाली समुदायले रुचिपूर्वक परिवेक्षण गरीरहेका छन् भने समुदायबाट प्रचारप्रसार कार्यमा सहयोग पनि हुँदै आएको छ । स्पाडायना क्षेत्र समुदायका हिसाबले विविध जातजातिका बासिन्दाहरुसँगै चिनिया मूलका बासिन्दाको बाहुल्यता रहेको छ ।
त्ययसपछि अन्य समुदायका बासिन्दाहरु पनि बस्दै आएका छन् । यो क्षेत्र टोरोन्टोको मुटुमा पर्ने भएकोले यसलाई एक महत्वपूर्ण चुनाव क्षेत्रका रुपमा हेरिन्छ ।
राजनितिक हिसाबले यहाँ एन.डि.पी. अर्थात नेसनल डेमोक्रेसी पार्टीका उम्वेदवारले जित्दै आएको छ भने लिबरल दलले पनि यसअघिको चुनाव जित्दै आएको थियो । यसअघि यस क्षेत्रको प्रतिनिधित्व चाइनामुलकी क्यानेडियन जुलियाचाउले गर्दै आएकी थिइन । उनी यही अक्टुबरमा हुने टोरोन्टोका मेयरको प्रत्यासी बन्ने भएकोले उक्त संसदीय क्षेत्रबाट गत मार्चमा राजिनामा दिएपछि अहिले उपचुनाव हुँदैछ । २०११ मा सम्पन्न चुनावमा यहाँ ९५,३६३ मतदाता रहेकोमा ६५,६११ मत अर्थात ६८.८ प्रतिशत मतदान भएको थियो ।
बेञ्जामीनको उम्वेदवारीसँगै नेपाली समुदायमाउ नको पक्षमा चुनावी लहर ल्याउन नेपाली समुदायको भूमिका महत्वपूर्ण रहनेछ । बेनको जितसँगै क्यानाडामा नेपालीहरुको सही पहिचान हुने विश्वास नेपाली समुदायले गरेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को संस्थापक राष्ट्र भएर पनि क्यानाडामा भारतीयहरुको बाहुल्यता भएकोले सार्कको कार्यक्रममा नेपालको प्रतिनिधित्वन भएको बराबर नै हुने गर्दछ । त्यस्तै, भारतपछि श्रीलंका, पाकिस्तान र बंगलादेशको जनसंख्या पनि बढी रहेकोले उनीहरुको समुदायबाट पनि जनप्रतिनिधि रहँदै आएकोले ती राष्ट्रहरुको पहिचान पनि क्यानाडामा भिजिबल माइनरिटीका रुपमा रहँदै आएको छ । त्यसैले बेञ्जामीनको उपस्थितिले नेपाल र नेपालीको अस्तित्व बनाइराख्नमा ठूलो टेवा मिल्ने विश्वास गर्न सकिन्छ । एक अर्थमा बेनको चुनाव अभियान नेपाली समुदायका लागि अग्निपरीक्षा सरह बन्दै गएको छ । यहाँ अवस्थित नेपाली संस्थाका अविभावकका रुपमा रहँदै र सहयोग गर्दै आएका डा. कुञ्जर शर्माको सहयोगमा धेरै हातहरु अगाडि बढ्दै गएका छन् ।
युवा समुदायको प्रतिनिधित्व गर्दै नयाँजोश र जागरका साथ अगाडि बढिरहेका बेञ्जामिनको चुनावी प्रचारप्रसारमा युवा समुदायले विशेष पहल गरिरहेका छन् । घरदैलो कार्यक्रमका माध्यमबाट बञ्जामीनले आफ्नो भूमिका र अटवा सरकारको समर्थनमा जनचाहना अनुरुप काम गर्दै जाने मतदाताहरुको विश्वास जित्दै गइरहेका छन् ।














प्रतिक्रिया