
काठमाडौं, २ भदौ । आन्तरिक राजस्व विभागले करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरेको छ ।
नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँ भन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने छ ।
मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ लाई संशोधन गरेर विभागले नयाँ व्यवस्था लागू गरेको हो ।
‘संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक रू. एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिकरूपमा भ्याटको विवरण दाखिला गर्नुपर्नेछ,’ विभागले हिजो शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै, हाल द्वैमासिकरूपमा भ्याट विवरण दाखिला गर्ने सुविधा नरहेकाले वार्षिक रू. एक करोडभन्दा बढीको कारोबार भएका करदाताले मासिकरूपमा नै विवरण पेस गर्न भनिएको छ । वार्षिकरूपमा एक करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीले भने चौमासिकरूपमै आफ्नो कर विवरण बुझाउन पाउनेछन् ।
















प्रतिक्रिया