३० आश्विन २०८३, शुक्रबार

एमालेबाट जनप्रतिनिधि बनेकाले पार्टीको अध्यक्ष र सचिवमा दाबी गर्न नपाउने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । नेकपा एमालेबाट जनप्रतिनिधि बनेका वडाका अध्यक्ष तथा पालिकाका प्रमुख र उपप्रमुखले पार्टीको प्रदेश कमिटीका अध्यक्ष र सचिवमा कुनै पनि दाबी गर्न नपाउने भएका छन् ।

पार्टीको केन्द्रीय सचिवालयको २३औं र २४औं बैठककका निर्णय अनुसार जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) ले यस्तो व्यवस्था गरेको हो ।

अपानिमा उल्लेख भए अनुसार प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यले समेत यी दुई पदमा उम्मेदवारी दर्ता गर्न नपाउने भएका छन् ।

जारी अपानिमा आसन्न प्रदेश अधिवेशनमा प्रतिनिधि छनौट र कमिटी निर्माणलाई विशेष प्राथमिकतमा राखिएको छ । पार्टीले यस अघि नै सबै कमिटीको संख्या घटाउने निर्देशन जारी गरिसकेको छ । मध्य भदौदेखि असोज भित्रमा प्रदेश कमिटीका अधिवेशन सम्पन्न गर्न अधिवेशनको मिति पनि तय गरेर सर्कुलर पठाएको छ ।

यसैगरी, प्रदेश अधिवेशनका प्रतिनिधि छनौटका लागि चार आधार तयार गरेर पार्टीले अपानि जारी गरेको छ । जसमा पालिकाललाई प्रतिनिधित्वको आधार मान्ने, सदस्य संख्या न्यून रहेका स्थानमा समावेशिताको प्रतिनिधित्व जिल्ला वा निर्वाचन क्षेत्रलाई मान्नु पर्ने छ ।

नव प्रवेशीहरुको हकमा सम्बन्धित प्रदेशको विशेषता अनुसार विशेष प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने छ । यसैगरी, ४० वर्ष मुनिका युवाको सुनिश्चित हुने गरी प्रतिनिधित्वको व्यवस्था गर्न निर्देशन गरिएको छ ।

अधिवेशनबाट नेतृत्व चयन गर्दा पनि विशेष ध्यान दिन पार्टीले निर्देशन गरेको छ । अपानिमा उल्लेख भए अनुसार भविष्यमा पार्टी प्रवेश गर्नेहरुलाई समेत ध्यानमा राखेर कमिटीको अधिकत्तम संख्या भन्दा कम संख्यामा मात्र सदस्यहरु चयन गर्नुपर्ने छ । कमिटीले १० प्रतिशत मनोनय गर्न पाउने अधिकारलाई अधिवेशन कै समयमा प्रयोग गर्ने गल्ती गर्न प्रदेश कमिटीहरुलाई स्मरण गराइएको छ ।

यदि अधिवेशनकै हलबाट उक्त अधिकार प्रयोग गरेमा त्यसलाई स्वत बदर गरिने अपानिमा निर्देशन जारी गरिएको छ । अपानिमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि विशेष जोड दिइएको छ । जस अनुसार प्रदेश कमिटीमा न्यूनतम् १० प्रतिशत ४० वर्ष भन्दा मुनिका युवालाई आवद्ध गर्नुपर्ने छ ।

यसैगरी, जिल्ला कमिटीमा १५, पालिकामा २० र टोल कमिटीहरुमा ३३ प्रतिशत युवाको सहभागिता गराउनु पर्ने उल्लेख गरिएको छ ।

अपानिमा पार्टीका सार्वजनिक कार्यक्रममा प्रयोग हुने ब्यानर, पोष्टर आदिमा नेकपाका संस्थापक पुष्पलाल,जननेता मदन भण्डारी, पूर्व अध्यक्ष मनमोहन अधिकारी र अध्यक्ष केपी शर्मा ओलीकोे मात्र तस्विर राख्ने निर्णय गरेको छ ।

अपानिमा १६ जना नेताहरुलाई संसदस्य विभागमा मनोनयन गरेको छ । प्रचार विभागमा ११ जना, विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागमा ६ जना, कृषि तथा पशुपन्क्षी विभागमा २ जना खानेपानी विभागमा ३ जना, अर्थ योजना र पार्टी स्कूल विभागमा ३/३ जनालाई मनोनित गरिएको छ ।

संगठन विभागको सचिवमा केन्द्रीय सदस्य माधव ढुंगेल चयन हुनु भएको छ ।

यसैगरी, साहित्य कला तथा संस्कृति विभागमा १० जनालाई मनोनयन गरिएको अध्यक्ष ओलीद्वारा जारी गरिएको अपानि उल्लेख छ ।