३० आश्विन २०८३, शुक्रबार

‘नेपाल खबर अनलाइन’को समाचारमा सत्यता देखिएन : प्रेस काउन्सिल नेपाल

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । प्रेस काउन्सिल नेपालले ६० किलो सुन तस्करीबारे बिहीबार साँझ नेपाल खबर अनलाइनले लेखेको ‘६० किलो सुन प्रकरणमा दावाको बयान : स्वराज र प्रतीकसँग व्यापारिक साझेदारी थियो’ शीर्षकको समाचारमा प्रस्तुत तथ्यहरूमा सत्यता नदेखिएको ठहर गरेको छ ।

केही व्यक्तिको चरित्रहत्या गर्ने र अनावश्यक ढङ्गले सुन तस्करी प्रकरणमा मुछ्ने अभिप्रायका साथ समाचार प्रकाशित भएको देखिएको आशय प्रकट गर्दै प्रेस काउन्सिल नेपालले तत्काल सम्बन्धित पक्षको भनाइ समावेश गर्न तथा खण्डन प्रकाशित गरेर काउन्सिललाई जानकारी गराउन पत्राचार समेत गरेको छ ।

सम्बन्धित पक्षको भनाइलाई स्थान नदिई एकपक्षीय रूपमा समाचार सामग्री सम्प्रेपण भएको ठहर गर्दै काउन्सिलले भनेको छ, ‘सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको अनुगमन गर्दा, ‘हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका तिब्बीत मूलका बेल्जियम नागरिक दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाएका छन्’ भन्दै उजुरीकर्ताको समेत नाम उल्लेख भएको तर सम्बन्धित पक्षको भनाइलाई स्थान नदिई एकपक्षीय रूपमा सामग्री सम्प्रेपण भएको अनुगमनबाट देखिएको छ ।’

काउन्सिलले नेपाल खबरद्वारा सम्प्रेपित सामग्रीका सम्बन्धमा सम्बन्धित पक्षको भनाइलाई स्थान दिई खण्डन सम्प्रेषण गरी २४ घण्टाभित्र काउन्सिललाई जानकारी गराउन भन्दै पत्राचार गरेको जनाएको छ ।

नेपाल खबरले हिजो प्रकाशित गरेको समाचारमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेलको संलग्नता रहेको दाबी सो अनलाइनले गरेको थियो । सुन प्रकरणमा पक्राउ परेकाले दिएको बयान भन्दै अनलाइनले स्वराज र सोही पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाको समेत संलग्नता रहेको उल्लेख गरेको थियो ।

समाचार प्रकाशित भएपछि स्वराज पोखरेलले आफ्नो विषयमा छापिएका समाचार भ्रमपूर्ण र तथ्यहीन भएको भन्दै काउन्सिलमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा काउन्सिलले सो अनलाइनलाई पत्राचार गरेको जनाएको छ । पत्रमा २४ घण्टाभित्र जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ ।