
काठमाडौं, ३० साउन । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवन उद्घाटन गरिएको छ ।
भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसर पारेर आज विद्यालय भवन उद्घाटन गरिएको हो । शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा सो भवन निर्माण गरिएको थियो ।
भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुइँटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुइँटेलले संयुक्त रुपमा भवन उद्घाटन गरे ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरुप करिब ६ करोड ९ लाख रुपैयाँ लागतमा विद्यालय भवन निर्माण गरिएको हो । नवनिर्मित संरचनामा दुईवटा ब्लक रहेका छन् जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि रहेका छन् ।
यो बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गमैत्री भूकम्प प्रतिरोधी संरचनाले ५०० जना भन्दा बढी विद्यार्थीलाई लाभान्वित तुल्याउनुका साथै प्रभावकारी सिकाइ वातावरण प्रदान गर्ने बताइएको छ ।

यो विद्यालय भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलरअन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक हो । यी ७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने क्रममा छन् ।
यो परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्याएको विश्वास गरिएको छ ।















प्रतिक्रिया