
काठमाडौं, ३० साउन । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ ।
आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुला गरेको हो ।
नियमावली संशोधनसँगै अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको हो । बैठकले रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम फुकाउने गरि भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रुपमा काम अघि बढ्ने उनले बताए । त्यस्तै, बैठकले गोरखामा एक व्यक्तिको घरमा फेला परेकोे टल्किने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ भने अहिलेसम्म उक्त ढुङ्गालाई संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको मन्त्री ज्वालाले बताए ।
बैठकले नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई स्वागत गर्दै निवर्तमान मन्त्री अमललाल मोदीलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको मन्त्री ज्वालाले जानकारी दिए ।















प्रतिक्रिया