
काठमाडौं, २९ साउन । कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्त ६ वर्षपछि सुन्धारास्थित केन्द्रीय कारागारमा भेटिएका छन् ।
मकवानपुरको मनहरि गाउँपालिका–३ की ५० वर्षीया अप्सरा भनिने नारायणी तिमिल्सिनाको हत्यामा संलग्न रही फरार भएका अभियुक्त धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारी लामो समयपछि कारागारमा भेटिएका हुन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित बोक्सीदह डाँडामा २०७४ पुस ३० गते भएको तिमिल्सिनाको हत्यामा उनी पनि संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको थियो । तर, उनी फरार रहँदै आएका थिए ।
फरार रहेकै अवस्थामा उनलाई आफ्नो नाम परिवर्तन गरेर अर्जुन अधिकारी बनाई नकवजनी (घरको भित्ता फुटाएर) चोरी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । २०७९ कात्तिक ६ गते थानकोटमा चोरी गर्दागर्दै पक्राउ परेका अधिकारीमाथि नकवजनी चोरी मुद्दामा २०७९ कात्तिक २९ गते तीन वर्ष कैद सजाय ठहर भई अर्जुन अधिकारी नाममा कारागार चलान भएका थिए ।
हाल कारागारमा सजाय काटिरहेका अर्जुन अधिकारी नै नारायणी तिमिल्सिनाको हत्यामा संलग्न रहेका शिवराम अधिकारी रहेको प्रहरीले पत्ता लगाएको हो ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।















प्रतिक्रिया