२८ कार्तिक २०८३, शनिबार

बिजनेस नभएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २९ साउन । आज दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मंगलबारका लागि सरेको छ ।

‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मंगलबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ । यसअघि गत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो ।

विपक्षी दल नेकपा (एमाले)ले सरकारले प्रदेश सभालाई बिजनेस दिन नसकेको जनाएको थियो ।

आजको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो । अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले बताए ।

सरकारले वन विधेयक पनि प्रदेश सभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा छलफलका लागि पेस हुने जनाइएको छ । एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईटा प्रस्ताव पनि दर्ता गरेको छ । प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनि संसद्’ मानिने विषयगत समिति अझै गठन हुन सकेको छैन ।

प्रदेश सभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले विषयगत समितिको नेतृत्वमा आ–आफ्नै दाबी अघि सारेका छन् ।